Sorry, that menu does not exist.
 

१७ औँ अधिवेशन प्रति उद्योगी-व्यवसायी-मतदाता उदासीन !
बागलुङ उद्योग बाणिज्य संघलाई रसातलबाट धरातलमा ल्याउने क्षमतावान नेतृत्वको खोजी !

बागलुङ २०७५ मंसिर १६ । बागलुङ उद्योग बाणिज्य संघको १७ औँ अधिवेशन आगामी मसिर २१ र २२ गते हुँदैछ । यस अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने भएपनि उद्योगी व्यवसायीहरु मात्र नभएर आम नागरिकवीच यो अधिवेशनलाई त्यति चासोका साथ हेरेको अनुभव गर्ने अवस्था भने छैन ।

नेतृत्वको दौडमा देखापरेका संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेल दुवै व्यक्तित्व कसैको मन नदुखाउने, कसैलाई नचिढाउने, जो संगपनि मिल्न सक्ने एकै शव्दमा भन्नुपर्दा अति मिलनसार स्वभावका धनी भएकाले जस्ले जितेपनि कुनै फरक नपर्ने अर्थमा उद्योगी व्यवसायी, उपभोक्ता, आम नागरिकको बुझाई रहेको छ । त्यस्मापनि दुबैजना विगत डेढ दशक देखी संघको कार्य समितिमा विभिन्न पदहरुमा बसेर काम गरिसकेका उद्योगी व्यवसायी भएका र दुबैमा अन्तरनिहीत नेतृत्व क्षमता एवं कार्यकौशलतालाई नजिकैबाट अनुभव गरेका मतदाताहरुमा नेतृत्व चयनमा (चुनावप्रति) त्यत्ति उत्सुकता देखिएको छैन ।

पछिल्लो समय संघले प्रभावकारी गतिविधी सन्चालन गर्न नसकेको अनुभव गरिरहेका उद्योगी व्यवसायीहरुले नयाँ आउने हाकिमहरुको स्वागत र सरुवा भएर जाँदा बिदाई कार्यक्रम गर्ने एकमात्र एजेण्डालाई निरन्तरता दिएको तीतो अनुभव व्यक्त गर्दै आएका छन् । बागलुङ बजारको विभिन्न ठाउँहरुमा राखिएको सीसी क्यामराहरुको उचित व्यवस्थापन नगर्नु, भ्यूटावरको निर्माणमा चासो नराख्नु, बागलुङ सदरमुकाम देखी पर्वत जिल्लाका पाङ र नाङलीवाङ जोडने कालीगण्डकी पुलहरुको निर्माणमा उदासीनता, व्यापारीहरुको जायज मागहरुलाई सम्वन्धित निकायमा पुराउन नसक्नु आदि आरोप लाग्दै आएको छ ।

संघको पहलमा सुरु गरिएको योजनाहरुले निरन्तरता नपाएको उनिहरुको बुझाई छ । संघले अन्तरक्रियात्मक कार्यक्रमहरु सन्चालन गर्न चासो नदिएको, व्यापारीहरुको हक हित र व्यापार पर्वद्र्धनमा सक्रियता नदिनु पनि उनिहरुको मन दुखाईको कारण बनेको छ । डेढ दशक देखी संघको पदाधिकारीको रुपमा काम गर्दै आएका अनुभवी उमेदवार राजभण्डारी र पौडेल मध्य जो नेतृत्वमा आएपनि संघमा कुनै चमत्कारिक परिवर्तन आईहाल्ला भन्ने कुरामा भने मतदाताहरु विश्वस्त देखिन्नन् । पछिल्लो समय सुषुप्त अवस्थामा रहेको संघलाई रसातलबाट धरातलमा ल्याउन निकै परिश्रम गर्नु पर्ने निश्चित छ ।

मंसिर १४ गते उमेदवारी दर्ता कार्यक्रम सकिँदा साथै, मतदाताहरुको सोँच बिपरीत चुनावी माहौल भने ह्वात्तै तातेको छ । राजनैतिक लिपपोत सुरु भएका कारण चुनाव चर्चामा रहेको छ । चुनावी ट्रेण्डलाई हेर्दा यो चुनाव सत्ता र प्रतिपक्षबीचको प्रतिष्पर्धा भने फरक नपर्ला । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षमा रहेका नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राप्रपा बीच चुनावी तालमेल बनेको छ ।

गत स्थानीय तह र प्रदेश एवं संघीय चुनावमा मिलेर लडेको राष्ट्रिय जनमोर्चाले बाउबासंघको निर्वाचनमा नेकपालाई साथ नदिने भएको छ । राष्ट्रिय जनमोर्चाले नेपाली काँग्रेस नेतृत्वको प्यानलबाट सहवीर अर्गेजा र थानेश्वर सुवेदी दुई जनाले खुल्ला सदस्य पदमा उमेदवारी दिएका छन् भने नयाँशक्ति पार्टीबाट महेन्द्र प्रसाद शर्मा सापकोटले एक जनाले खुल्ला सदस्य पदमा उमेदवारी दिएका छन् । राप्रपाले भने उम्मेदवारी नदिएपनि काँग्रेस नेतृत्वको प्यानललाई नै समर्थन गर्ने जनाएको छ ।
पौडेल र राजभण्डारी प्यानलबाट को, को कुन पदमा भीड्दै छन् ?

उमेदवारहरु

चुनावमा जसरी हुन्छ, सत्तारुढ पक्षलाई हराउने अभियानमा प्रतिपक्ष दलहरु एकजुट भएका छन् । उता नेकपा सिँगैको प्यानलले प्रचार अभियान तीब्र पारेको छ । केहि उमेदवारहरुले सामाजिक सन्जाल फेसबुक मार्फत व्यक्तिगतरुपमा एक्ला एक्लै मत मागिरहेको अवस्थापनि छ ।

प्रकाशित नामावली अनुसार जिल्लाभरमा जम्मा ११५३ मतदाताहरु छन् । बागलुङ नगरपालिकाको बजार क्षेत्रका १ देखी ४ सम्मका वडाहरुमा मतादाहरुको संख्या ७४२ रहेको छ, जस्मा वडा नं २ मा मात्रै ४४८ मतदाता रहेका छन् । बानपाका अन्य वडाहरुमा ७१ जना मतदाताहरु रहेका छन् ।

यस बाहेक सबभन्दा बढी गल्कोटमा ८१, बुर्तिवाङमा ५९, काठेखोला गापामा ४०, जैमिनी कुस्मीसेरामा ३० र आजीवन सदस्यहरु १३० जना रहेका छन् ।

चुनावमा गहिरो चासो राख्नेहरुको विश्लेषण अनुसार मौजुदा नामावलीमा नेकपाको पक्षमा ३०० देखी ३५०, नेपाली काँग्रेसको पक्षमा ४५० देखी ५००, जनमोर्चा १ सय देखी १५०, राप्रपा ५० देखी ७५ र नयाँशक्ति पार्टी ४० देखी ६० को बीचमा रहेको छ ।

विश्लेषकहरुको आँकडा एकातिर छ, अर्कोतिर उमेदवारहरुले प्रेस मिट गरेर आफ्ना भावी प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् । आफुहरु स्वयं पदासीन रहेको अघिल्ला कार्यसमितिहरुले पूरा गर्न नसकेका अधुरा कामहरुलाई पूर्णता दिने र दर्जनौ नयाँ लोभलाग्दा उद्देश्यहरुका साथ प्रचार अभियानमा निस्केका अध्यक्ष पदका दाबेदारहरुको प्रचार प्रसार र व्यक्तिगत प्रभावबाट मतदाताहरुको विचार परिवर्तन नहोला भन्न सकिन्न ।


दुुबै पक्षका उमेदवारहरुले प्यानलवाईज र व्यक्तिगतरुपमा चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन भने अध्यक्ष पदका दाबेदार दयाराम पौडेलले शनिवार स्थानीय एक होटेलमा पत्रकार भेटघाट कार्यक्रम गरेर आफ्नो १८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन । अर्का दाबेदार युवराज राजभण्डारीले पार्टी नेताहरुको बीचमा बसेर उद्योग बाणिज्य संघको भवनमा आजै केहि समय अघी पत्रकार भेटघाट गरेर आफ्ना १७ बुंदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply