माधब पराजुली, पोखरा २०७५ मंसिर १७ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखराबाट सात ओटै प्रदेशको लागि सिधा हवाई जहाज उडाउने प्रदेश सरकारको योजना रहेको सुनाएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको २३ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री लम्सालले पर्यटन र उद्योगनै समृद्धीको आधार रहेको बताउदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी सातै प्रदेशमा सिधा हवाई जहाजको व्यवस्था मिलाउने बताए । साथै उनले एक स्थानिय तहमा एक हेलिप्याड निर्माण गर्ने योजना पनि सुनाए ।
नेपालमा आएका पर्यटकहरुलाई अन्य पर्यटकीय स्थलहरुमा जानको लागि छिटो र छरितो हवाई मार्ग बन्ने चर्चा गर्दै यसले संख्यात्मक रुपमा पर्यटकको संख्या बृद्धि गर्ने विश्वास व्यक्त गरे । आवश्यक पूर्वाधार, पर्यटनमैत्री वातावरण सिर्जना गर्न नसक्नुनै पर्यटन विकासका प्रमुख चुनौती बन्दै गएकाले यस तर्फ सरकारको ध्यान गएको उनको भनाई थियो ।
सरकारले आर्थिक समृद्धि तथा मुलुकभित्रै रोजगारी सिर्जना गर्ने प्रमुख स्रोतको रुपमा पर्यटन क्षेत्रलाई लिएको छ, मन्त्री लम्सालले भने सोहीअनुसार निजी क्षेत्रले पनि सरकारको पर्यटनको विकास तथा विस्तारको योजनालाई साथ दिनुपर्छ ।
मन्त्री लम्सालले गण्डकी प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे सञ्चालनका लागि रु. ३० करोड विनियोजन गरिएको बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने बताए । साना योजना स्थानिय सरकार, मझौला योजना प्रदेश सरकार र ठुला ठुला विकासका योजना संघिय सरकारले राख्नुपर्ने र यसो गर्दा मुलुकले विकासमा फड्को मार्ने उनको भनाई थियो ।