बागलुङ २०७५ मंसिर १९ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले महिला स्वास्थ्य स्वयं सेविका समाजका प्रमुख धरोहरका रुपमा रहेको बताएका छन । १५औं राष्ट्रिय स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बागलुङमा आयोजिक कार्यक्रममा बोल्दै तिवारीले समाजमा स्वास्थ्य क्षेत्रमा उनिहरुको अतुलनिय योगदान रहेको बताएका हुन ।
उनले समृद्ध राष्ट्र निर्माणका लागी महिला स्वास्थ्य स्वयं सेविकाको महत्व पुर्ण भुमिका हुने हुँदा समाजले उनिहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन । उहाँहरुले निस्वार्थ भावनाले समाजमा बाल स्वास्थ्य र मातृ स्वास्थ्यमा निकै प्रभावकारी भुमिका निर्वाह गर्नुभएको छ, तिवारीले भने, उहाँहरुको कुनैपनि स्वार्थ छैन, निश्वार्थले गरेको सुकामलाई हामी र हाम्रो समुदायले उचित मुल्याङ्कन गर्न जरुर रहेको छ ।’ उनले नेपालमा महिला स्वास्थ्य स्वयं सेविकाको काम देखेर अरु देशले पनि यसको सिको गरेको बताए ।
‘स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वस्थ समृद्व राष्ट्र निर्माणमा टेवा’ भन्ने मूल नाराका साथ जिल्लाका सवै स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरुले विविध कार्यक्रम गरी मनाएका छन । बागलुङ नगरपालिकाले पनि वडा नं. १,२,३ र ४ को संयुक्त रुपमा बागलुङ बजारमा कार्यक्रमको आयोजना गरेको थियो । दिवसको अवसरमा नगरपालिकाले स्थानिय स्तरमा उत्कृष्ट काम गर्ने महिला स्वस्थ्य स्वयं सेविकालाई सम्मान तथा पुरस्कृत गरेको छ । बागलुङ नगरपालिका वडा नं. १,२,३ र ४ मा काम गर्ने महिला स्वास्थ्य स्वयं सेविका मध्ये ६ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान तथा पुरस्कृत गरेको हो । सम्मान तथा पुरस्कृत हुनेमा बागलुङ नगरपालिका वडा नं. २ का गिता शर्मा, वडा नम्बर ३ का कल्पना श्रेष्ठ सोही वडाकी विष्णुकुमारी शर्मा, वडा नं. ४ का सन्तु विष्ट, जमुना सापकोटा र सरिता आचार्य रहेका छन । उनिहरुलाई नगद १ हजार र सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा बानपा–२ का वडा अध्यक्ष जिवन आचार्य, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियका अध्यक्ष तेज प्रसाद निउरे, महिला स्वास्थ्य स्वंय सेविका संजालका अध्यक्ष तथा सम्मानित महिला स्वास्थ्य स्वयं सेविका कल्पना श्रेष्ठ, बानपा २ का महिला स्वास्थ्य स्वयं सेविका गिता शर्मा लगायतले बोलेका थिए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कुल ९ सय ५० जना महिला स्वास्थ्य स्वयं सेविकाले निस्वार्थ रुपमा सेवा गरिरहेका छन । हाल देशमा भरिमा ५१ हजार ४ सय ५० महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । सरकारले यो कार्यक्रम २०४५ सालबाट सुरु गरेको हो ।
महिला स्वास्थ्य स्वयं सेविकाहरुले देशभरिका गाउपालिका र नगरपालिकाका वडास्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएका छन् । हरेक वर्ष सरकारले उत्कृष्ठ सेवा गर्ने स्वयं सेविकाहरुलाई सम्मानका साथ पुरस्कृत गर्ने गरेको छ । उनीहरुलाई पोषाक भत्ताका अलावा तालिम अवधिमा भत्ता बाहेक स्वयं सेविकाले कुनै आर्थिक लाभ पाउने गरेका छैनन् । कार्यक्रम बानपा–४ का वडा अध्यक्ष धुव्र केसीको अध्यक्षता बानपाको स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डेयको स्वागत र डिल्ली आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभानमा पनि राष्ट्रिय महिला स्वास्थ्य स्वयमं सेविका दिवस भव्यताको साथ मनाएको छ । तमानखोला गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा तमानखोला गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयमं सेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको बोङगादोभान स्वास्थ्य चौकीका अ.हे.व राजन कुमार थापाले जानकारी दिए ।
गाउँपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमं सेविकाहरु बिच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा ३ वटा स्वास्थ्य चौकीको ४ समूहले सहभागिता जनाएका थिए । जसमा तमान स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयमं सेविका प्रथम, खुङ्खानी स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयमं सेविका द्धितीय, बोङ्गादोभान स्वास्थ्य चौकी समूह क का महिला स्वास्थ्य स्वयमं सेविका तृतीय र बोङ्गादोभान स्वास्थ्य चौकी समूह ख का महिला स्वास्थ्य स्वयमं सेविका सान्तवना भएका थिए । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र २ हजारले पुरस्तृत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले यसलाई मजबुत बनाउन जरुरी रहेको बताए । उनले गाउँपालिकामा भएका सबै स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि स्थानीय जनता, जनप्रतिनिधिहरु लागि पर्नु पर्ने बताउँदै स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै अगाडि बढेको बताए ।