बागलुङ २०७५ मंसिर २१ । बागलुङ उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको चुनाव भोलि अर्थात मंसिर २२ गते शनिवार हुँदैछ । संघको अध्यक्ष पदमा संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र संघका महासचिव दयाराम पौडेलबीच चुनावी प्रतिष्पर्धा रहेको छ ।
अध्यक्षका प्रत्यासी राजभण्डारीलाई प्रतिपक्ष नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँशक्ति नेपालको साथ रहेको छ भने अर्का प्रत्यासी पौडेललाई सत्तारुढ नेकपाको सहयोग रहेकोले यस चुनावलाई सत्तापक्ष र प्रतिपक्ष बीचको चुनावको रुपमा हेरिएको छ ।
चुनावी प्रचार अभियानमा नेपाली काँग्रेसको सक्रियता बढीचढी नै देखिएको छ । चाहे अध्यक्ष पदका प्रत्यासी राजभण्डारीको पत्रकार सम्मेलन होस या चुनावी प्रचार अभियान किन नहोस नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उत्साहप्रद उपस्थितिले चुनावप्रति काँग्रेस बढी आशावादी रहेको देखिन्छ ।
बिगतका चुनावहरुको नतिजालाई हेर्दा काँग्रेस समर्थित नेतृत्व नै विजयी हुँदै आएको देखिएपनि समितिका अन्य पदाधिकारी सदस्यहरु भने छ्यास्मिस् आउँथे तर यसपालीको चुनावी गठबन्धन र प्रचार शैलीलाई हेर्दा प्यानल नै विजय हुने सम्भावना बढेको आँकलन काँग्रेसबृत्तमा गरिदै छ । ११५३ मतदाता रहेको बाउबासंघमा प्रतिपक्षको रुपमा देखिएको राजभण्डारीको प्यानलले दुई तिहाई बहुमतले चुनाव जित्ने विश्वास व्यक्त गरिदै छ ।