राष्ट्रियताको रक्षाका लागि फेरी अर्को राजनीतिक आन्दोलन गर्न आवश्यक – केसी
राम सुवेदी, गल्कोट २०७५ मंसिर २१ । राष्ट्रिय जनामोर्चा बागलुङको छैठौं जिल्ला सम्मेलन आज गल्कोटमा उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सम्मेलनको उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले अहिलेको दुई तिहाईको सरकार भ्रष्टाचारी, माफियाको ईसारामा चलेको आरोप लगाए ।
दुइ तिहाई दिलाउन सघाउनेकै पछि लाग्दा सरकार भ्रष्टाचार र सिण्डीकेटको दलदलमा फसेको टिप्पणी गर्दै केसीले, राष्ट्रियताको रक्षाका लागि फेरी अर्को राजनीतिक आन्दोलन गर्नुपर्ने धारणा व्यक्त गरे ।
वर्तमान दुइ तिहाईको सरकारले भारतीय विस्तारवाद, अमेरीकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली र गुलामी गरेर शत्ता टिकाई राखेको बताउँदै त्यसकै इसारामा देशको महत्वपूर्ण उर्जा स्रोत अरुण तेस्रो भारतलाई सुम्पेको आरोप लगाए ।
अध्यक्ष केसीले, नेपाली जनताको आन्दोलनले राणा फाल्यो, पञ्च्यायत फाल्यो, राजा पनि फाल्यो तर देशको आर्थिक, सास्कृतिक र प्रशासनिक परिवर्तन नहुँदा जनतामा निरासा जस्ताको तस्तै रहेको बताए । देशमा जनताको अपेक्षा र चाहना विपरीत राज्य सत्ताको दाउमा लागेका कारण देशलाई संघीयतामा फसाएर धुजा धुजा पार्ने षडयन्त्र सुरु भएको बताउदै उनले, देशमा सञ्चालन गरिएको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थुपार्ने काम भएको स्पष्ट पारे ।
प्रमुख अतिथि केसीले संघियता मध्ये पनि सबैभन्दा गरिवी भित्राउने प्रणाली नेपालीले लिएको बताउँदै, हामीले पटक पटक करायौं, हाम्रो आबाज नपुगेको बताए । ‘युरोपियन र भारतीयले थुपारेको प्रणाली अंगिकार गर्दा देश भड्खालोमा खसेको छ ।’ फसेको देशलाई माथि उठाउन प्रदेश तह रहेको स्थानमा प्रशासनिक ईकाई राखेर संघियता खारेज गर्नुपर्ने उनको भनाई छ । युरोपियन युनियन र अमेरिकाले भनेजस्तो संविधान नबन्दा पहिलो संविधानसभा खारेज भएको भन्दै, दोश्रो संविधानसभामा उनीहरुको एजेण्डा तोड्न खोज्दा भारतीय चाहना पुरा नभएपछि देश टुक्राउन संशोधन प्रस्ताव ल्याएको आरोप अध्यक्ष केसीले लगाए ।
देशको बिकासको बाधक अंगिकृत नागरिकता भएको बताउँदै, हिमाल, पहाड र तराई टुक्राउने योजना र उद्योग धन्दा धरासायी बनाएर युवा बिदेश पलायन गराउनेलाई दुःख दिने षडयन्त्रमा ठूला भनिने दल फसेको उनको भनाई थियो ।
उता सिण्डीकेट कायम राख्ने र भ्रष्ट्राचारी बोकेर चुनाव जितेकाबाट बिकास र सुशासन कायम हुन्छ भन्ने बिश्वास नगरे हुने केसीको भनाई थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष बेदीलाल सापकोटाको स्वागत मन्तव्य तथा भिमसेन वनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
राजमोको सम्मेलनमा जिल्लाभरका सयौं कार्यकर्ता गल्कोटमा भेला भएका थिए । सम्मेलन आज र भोली गरी दुइ दिन सम्म चल्ने बताइएको छ ।
तस्वीर : प्रकाश बराल