Sorry, that menu does not exist.
 

बडीगाड गाउँपालिकामा भीर मौरीको मह शिकार : पर्यटन विकासमा महत्वपूर्ण – अध्यक्ष पाईजा

सिसाखानीमै महशिकार सहित गाउँकार्यपालिकाको बैठक र बनभोज सम्पन्न !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ मंसिर २९ । बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा केहि दिन यता भीर मौरीको मह शिकार (हनि हन्टिङ) मा व्यस्त छन् । गाउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने तथा भीर मौरीको प्रवद्र्धन र व्यवस्थित गर्दै पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने ध्ययका साथ मह शिकारमा लागेका हुन् । एक महिना अगाडी बडीगाड महोत्सवको अवसर पारेर रणसिंहकिटेनी क्षेत्रमा मह शिकार गरिएको थियो भने अहिले गाउँपालिकाको ३ नम्बर वडा सिसाखानी टुनिखोलाको तारे भीरमा मह शिकार चलिरहेको छ । ४० घार भीर मौरी रहेको सो क्षेत्रमा विहीवारको तयारी पछि शुक्रवार १६ घारवाट झण्डै ५० किलो भीर मौरीको मह शिकार गरिएको र शनिवार (आज) थप मह शिकार गरिने गाउँपालिका अध्यक्ष पाईजाले ईबागलुङलाई जानकारी दिए ।

बागलुङ जिल्लामा असल कृषकको पहिचान बनाएका अध्यक्ष पाईजा आफैले मह शिकार गर्छन् । भीरमौरीको मह शिकार आफैमा जोखिम र साहसिक शिकार मध्य पर्दछ । बडीगाड गाउँपालिका भित्रका हनि हन्टिङ (महशिकार) क्षेत्रहरु पहिचान गर्न र देश विदेशमा प्रचार गरि पर्यटन प्रवद्र्धन गर्नको लागि आफैले मह शिकार गर्न सुरु गरेको पाईजाका भनाई छ । आगामी वर्षको लागि मह शिकार क्षेत्रहरुको पहिचान गर्ने र सहज वाटो निर्माण संगै व्यवस्थित गर्ने र भीर मौरीको मह शिकार महोत्सवकै रुपमा अगाडि वढाउने योजना रहेको अध्यक्ष पाइजाले बताए । अध्यक्ष पाईजाले भीरमौरी शिकार क्षेत्रको रुपमा बडीगाड गाउँपालिका भित्रका विभिन्न क्षेत्रहरुलाई प्रयोग गर्न सकिने भन्दै प्रदेश सरकार तथा केन्द्र सरकार संग आवश्यक सहयोगको लागी आग्रह समेत गरेका छन् ।

यसै विच पर्यटकीय क्षेत्रको विकासको लागी प्रचार गर्ने उद्देश्यले गाउँकार्यपालिकाका सवै सदस्यहरु उपस्थितिमा वडा नं. ३ र १ को सीमानामा पर्ने गराङचौरमै कार्यपालिकाको बैठक शुक्रवार वसेको छ । वैठक संगै स्थानिय सरोकारवाला संस्था तथा गाउँकार्यपालिका सदस्य सहित कार्यपालिका कार्यालयमा कार्यरत सवै कर्मचारीहरुको सहभागितामा वनभोज कार्यक्रम समेत सम्पन्न भएको छ ।

मंसिर १ देखि ९ सम्म बडीगाड महोत्सव गरेको गाउँपालिकाले, गाउँपालिका भित्रकै विकट मानिने सिसाखानीमै कार्यपालिकाको वैठक तथा मह शिकारको कार्यक्रम राखेर थप एकताको सन्देश समेत दिएको छ । समग्र रुपमा कार्यक्रमले सिसाखानीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने वडा नं. ३ का अध्यक्ष खड्क पुनले विश्वास व्यक्त गरेका छन् । समुद्र सतह देखि २२ सय मिटरको उचाइमा रहेको सो गराङचौरमा पानीको व्यवस्थापन गर्न सके पिकनिक स्पट तथा धेरै क्षेत्रको दृश्यावोलकन गर्न सकिने भएकोले पर्यटन पर्वद्धन गर्न सकिने सम्भावना रहेको छ।

कहाली लाग्दो भीर पहराहरुमा हुने भीर मौरीको मह शिकार अर्थात मह काढ्ने काम नै मह शिकार हो, जुन विश्वमै बिरलै हुने गर्दछ । अत्यन्त सुरा मह शिकारीहरुको साहसिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण पनि यो निकै महत्वपूर्ण शिकार हो । अर्को तर्फ भीर मौरीको मह समय मिलाएर काढ्न सक्ने हो भने राम्रो आम्दानीको श्रोत पनि हो।

आङ नै सिरिंग हुने अग्ला अनकण्टार भीर पहराहरुमा निडरभई साहसी शिकारीहरुले मह काढ्ने काम नै मह शिकार (हनि हन्टिङ) हो । अग्ला पहराहरुमा भीर मौरीले चाका बनाई मह संकलन गर्छन र बच्चा जन्माउने गर्छन् । ज्यान हत्केलामा राखेर भीर मौरीको शिकार गरिने भएकाले यसलाई साहसिक शिकारका रुपमा लिईन्छ ।

बडीगाड गाउँपालिकाको सिसाखानी, जलजला, रणसिंह किटेनीका अग्ला भीरहरुमा प्रशस्त भीर मौरी पाइने गर्दछ । मह शिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि नयाँ पुस्तामा भने यसको खासै विकास भने हुन सकेको छैन ।


अन्य मौरीको महभन्दा भीरमौरीको मह स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भीरमौरीको महलाई शक्तिवद्र्धक तथा यौनवद्र्धक अचुक औषधिको रुपमा पनि लिईन्छ । तर यसको सेवनमा भने ध्यान दिनु जरुरी हुन्छ । वनपाखामा विभिन्न फूलको रस समायोजना हुने भएकाले एकै पटकमा धेरै खाँदा पखाला लाग्ने टाउको दुख्ने जस्ता समस्या आउन सक्ने विज्ञकरुको भनाई छ ।

प्रतिलिटर १२ सय रुपैयाँ भन्दा महंगो हुने यो भीर मौरीको मह दम, नशा, ढाडसम्बन्धि रोगको औषधिका रुपमा प्रयोग गरिन्छ । त्यस्तै पाठेघर समस्या, निमोनिया, पिनास, विष नाशक, पेट रोग, हड्डीसम्बन्धि समस्याको निदानमा पनि मह सेवन उत्तम मानिन्छ ।

भीर मौरीले विभिन्न जडीबुटीको रस संग्रह गरेर मह बनाउने भएकोले भीर मौरीको महलाई औषधिका रुपमा सेवन गरिएको हो । भीर मैरीले पाखानवेद, पदमचाल, ठूलो ओखती, वृषजरा, सुगन्धवाल, चुथ्रो, कटुस, चिराइतो, मान्द्रे, बलु, हतिचुड, विभिन्न सुनाखरी प्रजातिका वनस्पति लगाएत विभिन्न जडीबुटीको फूलको रसबाट मह बनाउने गर्दछ ।

डोरीको भर्याङ (जसलाई स्थानिय भाषामा पराङ भनिन्छ) मार्फत भीरमा झुण्डिएर मह काढिन्छ । अग्लो भीरको माथि पराङलाई बलियो संग अड्याएर (बाँधेर) तल भीरमा झरिन्छ । यसै पराङ बाट शिकारीहरु भीर मौरीको चाका सम्म पुग्छन् । डोरीकै सहारामा बाँसको थूम्से, थाली वा डालीमा मह थापिन्छ । मह भरिएपछि डोरीकै सहायतामा भीर भन्दा माथि वा तल अनुकूलता हेरी झारिन्छ । मह निकाल्न मुख्य शिकारी वाहेक अन्य १० देखि १५ जना सहयोगी चाहिने गर्दछ । वर्षमा दुई पटक मंसिर।पुस तथा बैसाख।जेठमा मह निकाल्ने चलन रहेको छ । सो समयमा मौरीले मह संकलन गर्ने भएकोले सो समय छनौट गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply