सुमन सुनार, बुर्तिबाङ २०७५ पुस ६ । ढोरपाटन नगरपालिकाले नगरस्तरका जनतालाई सहज रुपमा जानकारी र सूचना पु-याउन मोबाइल एप सार्वजनिक गरेको छ ।
मोबाइल मार्फत जनताले घरमै बसेर नगरपालिकासंग सम्बन्धित जानकारी प्राप्त गर्न सकुन भन्ने मुख्य उद्देश्य सहित मोबाइल एप सेवा सञ्चालन गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए । मोबाइल एप मार्फत नगरपालिकाका सम्पुर्ण गतिविधिहरु हेर्न सकिने उनको भनाई छ ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश भण्डारीका अनुसार सूचना प्रविधि विभागको प्राविधिक सहयोगमा उक्त मोबाइल एप भित्राइएको हो । मोबाइल एप्सको प्रयोगबाट जनतालाई सुशासन, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने भण्डारीको भनाई छ ।
त्यसैगरी सो एपका सहयोगमा स्थानिय तहबाट प्रदान गरिने सेवा, सुविधा, नागरिकले सेवा लिनका लागि पुरा गर्नुपर्ने आवश्यक प्रक्रिया तथा त्यससंग सम्बन्धित कर्मचारीहरुको जानकारी, योजना तथा कार्यक्रमको विषयमा जानकारी, सूचना, समाचार, आपत्कालिन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण, वडाहरुको प्रोफाईल, महत्वपूर्ण स्थानको परिचय हेर्न र थाहा पाउन सक्ने सूचना प्रविधि अधिकृत भण्डारीले ईबागलुङलाई बताए । ९ ओटै वडाका जनताले जुनसुकै समयमा आफ्नो वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुली लगायत नगरपालिकाबाट सञ्चालन भएका योजनाहरुमा भए गरेका समस्या तथा गुनासो दर्ता गर्न सकिने समेत उनले बताए । उक्त एप Play Store मा गएर Dhorpatan Municipality सर्च गरेर डाउनलोड गर्न सकिने भण्डारीको भनाई छ ।
मोबाइल एप सेवा सुरु गरेसंगै नागरिकलाई आफ्नो वडाको विवरण, बजेट तथा योजनाका कार्यक्रमहरु लगायतका नगरपालिकासंग सम्बन्धित सूचना एवं जानकारी लिनका लागि नगरपालिका कार्यालय सम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा लिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।
एपको प्रयोगले जनप्रतिनिधि, कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो हुनुका साथै जनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज हुने प्रमुख प्रशासकिय अधिकृत पोखरेलको भनाई छ ।