घनश्याम गौतम, गल्कोट २०७५ पुस ९ । गल्कोट नगरपालिकाले अबैज्ञानिक मापदण्डका आधारमा कर संकलन गरेको भन्दै गल्कोटमा क्रियाशील ३ राजनैतिक दलहरुले राजश्व कर संकलन रोक्ने निर्णय गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनमोचार्ले नगरपालिकाले निर्धारण गरेको सम्पति तथा भुमिकरको मापदण्ड अबैज्ञानिक र अब्यबहारिक भएको भन्दै बिरोध जनाएको छ ।
आज तीनै राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट तिलक उप्रेती, चन्द्रदत्त रेग्मी, चित्र साहानी, नेपाली कंग्रेसको तर्फबाट फम बहादुर खत्री, बम बहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाको तर्फबाट टंक बहादुर केसी र पदम श्रेष्टले संयुक्त रुपमा कर संकलन कार्यलाई रोक्न आग्रह गर्ने निश्कर्ष निकालेको राष्ट्रिय जनमोर्चा गल्कोट नगरका अध्यक्ष टंक केसीले ईबागलुङलाई बताए । भोलि मंगलबार कर संकलनलाई रोक लगाउने, कर संकलनकोे मापदण्ड बैज्ञानिक रुपमा निर्धारण नभएकोले, कर नतिरे कुनै पनि सिफारीस नगर्ने जस्ता कार्यको बिरोध गर्ने जनाईएको छ ।
नगरपालिकाले मापदण्डको पुनर्बिचार नगरेमा पुस १३ गते ३ दलको सयुक्त बैठक बस्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाईएको छ ।