खेमराज अर्याल, बुर्तिबाङ २०७५ पुस ११ । ढोरपाटन नगरपालिका वडा नम्बर २ खलबाङमा रहेको अर्नाकोट आधारभूत विद्यालयका विद्यार्थीलाई कर्म प्mलाइट्स फाउण्डेसनले न्यानो कपडा वितरण गरेको छ । कर्म फ्लाइट्स फाउण्डेसन पोखराका निर्देशक प्रेम कुवँरको पहलमा विद्यालयमा अध्ययनरत १ सय ५८ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । जाडो मौसममा न्यानो कपडाको अभावमा विद्यार्थीलाइ अध्ययनका लागि समस्या भएको भन्दै कतिपय आर्थिक अवस्था कमजोर भएका कारण न्यानो कपडा समेत किन्न नसक्ने अवस्थामा रहेकोले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ज्याकेट वितरण गरिएको फाउण्डेसनका निर्देशक प्रेम कुवँरले बताए ।
विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनले उक्त विद्यालयमा करिब २ लाख ३७ हजार मूल्य बराबरको ज्याकेट वितरण गरिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेले कर्म फ्लाइट्स फाउण्डेसनले यस अघि पनि विद्यालयमा पुस्तकालय स्थापना गर्न तथा कम्प्युटर ल्याब सञ्चालनका लागि सहयोग गरिसकेको र अहिले पनि विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेकामा धन्यवाद दिदै संस्थाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वडा नम्बर २ की वडा सदस्य मन कुमारी विक सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी कर्मफ्लाइट्स फाउण्डेसनका पदाधिकारी विद्यालयका शिक्षक विद्यार्थी अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता कर्मफ्लाइट्स फाउण्डेसन पोखराका निर्देशक प्रेम कुवँरको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक धन बहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।