बागलुङ २०७५ पुस २० । बागलुङ नगरपालिका- ४ उपल्लाचौरमा मंसिर २१ गते रन्जना (नाम परिवर्तित) लाई तीन जना युवकले सामुहिक बलात्कार गरेको घटनाका सम्वन्धमा जिल्ला सरकारी वकिल कार्यालय बागलुङव्दारा जिल्ला अदालत बागलुङमा पेस गरिएको मुद्दामा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको ईजलासबाट पुस १९ गते भएको आदेशले तीनै जना अभियुक्तहरुलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएपछी कारागार चलान गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधीवक्ता (जिल्ला वकिल) धर्मराज पौडेलसंग ईबागलुङले यस मुद्दा सम्वन्धमा मुलुकी आचार संहिता २०७४ ऐनको कुन कुन दफा अन्तरगतको कसूरमा सजायँको माग दाबी गरिएको छ भन्ने जिज्ञासामा अपहरण, शरीरवन्धक र सामुहिक बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिए ।
जिल्ला न्यायाधीवक्ता पौडेलका अनुसार अपहरण र शरीर बन्धक तर्फ मुलुकी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २, दफा २१२ को उपदफा १ र २ तथा जवरजस्ती करणी तर्फ दफा २१९ को उपदफा १, २ र ७ बमोजिमको कसूर अपराधमा सजायँ र क्षेतिपूर्ति समेतको मागदाबी गरेको जानकारी दिए । माग दाबी अनुसार सजायँ भएमा २७ वर्ष सम्म थुनामा बस्नु पर्ने अवस्था रहेको श्रोतले बतायो