कविता घर्तीमगर, निसीखोला (बागलुङ) २०७५ पुस २१ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित निसीखोला गाउँपालिका वडा नम्बर ६ मा अव दलितहरुको भोजभोतेरमा सबै जातजातिको चुलो (भान्सा) एउटै हुने भएको छ ।
विगतका समयमा दलित समुदायको भोजभतेर चल्दा जनजाति, ब्राह्मण तथा दलित समुदायका नातागोताहरुलाई बोलाउदा समुदाय अनुसारको ब्यक्तिलाई भान्से राख्ने चलन थियो । वडास्तरबाट नै समाज परिवर्तनको पहल तथा जनचेतना फैलाउने उद्देश्यले दलित सञ्जाल वडा नं. ६ को वडा बैठकले उक्त निर्याय गरेको हो ।
जातीय छुवाछूतको कुप्रथाले जरा गाडेको अबस्थामा अहिलेको एक्काइसौं शताब्दीमा आएर एउटै रंगका मानिसले फरक फरक चुलामा खाना पकाएर खाँदा अहिलेको बालबालिका र समुदायका ब्यक्तिलाई मानसिक रुपमा नकारात्मक असर पर्न गई समाजमा तिक्तता आउने गरेको छ । साथै उक्त चलनले दलित समुदायलाई जातिय विभेद गरिएको महसूस हुने भएकाले कुनै पनि शुभकार्यमा वा कार्यक्रममा एउटै चुलो हुनु पर्ने उद्देश्य सहित सन्जालले अभियान चलाउने निर्णय गरिएको यो अभियान केही दिन भित्र निसीखोला गाउँपालिका र अन्य भागमा पनि सुरुवात गर्ने निसीखोला गाउँपालिका दलित सन्जालका सचिब सन्तोष बिश्वकर्माले बताए ।
दलित सन्जालका अध्यक्ष नैनसिंह घटानको अध्यक्षतामा भएको बैठकमा निसीखोला गाउँपालिका सदस्य सुनिल बिश्वकर्मा(मिलन), निसीखोला गाउँपालिका वडा नम्बर ५ का दलित सन्जाल अध्यक्ष हिरा बहादुर बिश्वकर्मा, निसीखोला गाउँपालिका दलित सन्जाल सचिब सन्तोष बिश्वकर्मा लगायतका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी ,संजालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।