कोपिला कंडेल
हामीले मुलुकमा गणतन्त्र स्थापना हुनुपुर्व थुप्रै राजा महाराजाको ईतिहास पढ्यौ । ती मध्ये गर्बिलो ईतिहास रच्न सफल राष्ट्र निर्माता पृथ्वी नारायण शाहको नाम पनि अग्रस्थानमा आउछ । ईतिहास कसैले मेट्छु भनेर मेटिने चिज होईन । कसैको मानसपटलमा गहिरो छाप भने मेट्न मुस्किल हुन्छ । हुनत बिगतको कठोर १० बर्षे जनयुद्ध वा १९ दिने आन्दोलनमा धैरै राजा महाराजाका शालिकहरु तोडिए तस्वीरहरु फोडिए त्यो सहि थियो वा गलत त्यो छुट्याउने औकात भने म संग छैन । लाग्छ कुनै ब्यवस्था फेरिएपनि कसैको ईतिहास नमेटियोस । मान्छे राम्रो वा नराम्रो भन्ने कुरा उसका कर्मले छुट्टिन्छ । मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको उदय हुदा आम नगरिकले मुलुकमा अव कायापलटनै हुने छ, जनताका जनविविकाका सवालहरुले स्थान पाउने छन्, गास, बास र कपासको अभावले कोहीपनि रुनुपर्ने छैन, गरिबी सदाको लागि अन्त्य हुनेछ भन्ने आम जनताको अपेक्षा थियो । तर समय बदलियो राजनीति बदलियो जनताका जनजिविकाका सवालहरु जहांको तही जस्ताको तस्तै छन् ।
राष्ट्रियता कमजोर बन्दै गईरहेको अधिकाशंको गुनासो छ । भ्रष्टाचार, कमिशन, कालोबजारी लगायतका बिकृति जन्य क्रियाकलाप दिनहु बढ्दो छ ।
अहिले मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार छ । प्रादेशिक र स्थानिय संचरना पनि सोही अनुसारका छन् तर समयले ल्याउने परिवर्तन बाहेक सर्व साधारण जनताले अन्य कुनै राहतको महसूस गर्न पाएका छैनन् । बरु बढ्दो करले आफुहरु मारमा परेको सर्वसाधारणको गुनासो छ । राजा महाराजाले चलाएको सरकार र अहिलेको सरकारमा हुनै भिन्नता नरहेको चर्चा परिचर्चा बढिरहेको छ । त्यसैले कुनै पनि व्यवस्था आफैमा राम्रो नराम्रो भन्ने हुदैन त्यसलाई हाक्ने राजनेतामा भर पर्दछ ।
ईतिहासमा पृथ्वी नारायण साहले राष्ट्रनिर्माणमा खेलेको भुमिकालाई वेवास्ता गर्नु भनेको उनि माथिको घोर अपमान हो । हिजोका पृथ्वी नारायण शाह लगायत राजा महाराजाको ईतिहास रहेन भने अहिलेका राजनेताको ईतिहास पनि भोलि रहनुपर्छ भन्ने छैन । यसतर्फ राज्यको ध्यान जान आवश्यक छ ।
मेरा साना दुखले आर्ज्याको मुलुक होईन यो सबैलाई चेतना भयां, यो भनाईले राष्ट्रप्रति बफादार र ईमान्दार जुनसुकै ब्यक्तिको पनि मन छुन्छ । लाग्छ पृथ्वी नारायण शाहको अवसान पछि उनि बाराबरको दुरदर्शी र नेता नेपालमा जन्मेकै छैन ।
हुनत अहिले मुलुक संघिय संरचनामा गयो । ३ खाले सरकार बने । नियालेर हेर्दा लाग्छ एउटा वडा अध्यक्षले समेत चुनाव लड्दा लाखौ खर्च गरेका तथ्यहरु हाम्रा सामु छर्लङ्ग छन् । अझ बिडम्बना त के छ भने समानुपातिक तर्फका अधिकांश पद किनेर वा चाकडी गरेर पाउने गरेको सुन्नमा आउछ । सबै संरचनाहरु भ्रष्टाचारको अखडा बनिरहेका छन् । सरकार, न्यायालय, कर्मचारी तन्त्र, सुरक्षा निकाय सबै भ्रष्टाचारबाट कुनै अछुतो छैनन् । अझ भन्ने हो भने मुलुकमा अर्बौ अर्ब करोडौ करोड भ्रष्टाचार गर्नेको लेखाजोखा छैन । दश पन्ध्र हजार घुस लिने खरदार र सुब्वा स्तरका अधिकाशं कर्मचारीलाई मात्र भ्रष्टाचारको मुद्दा लाग्ने गरेको छ । घुस खाने र घुस दिने ब्यक्ति दुबै मुलकका ठुला शत्रु हुन् भन्ने पृथ्वी नारायण शाहको भनाईलाई अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।
अत अव पृथ्वी नारायण शाहले नेपाल एकीकरण र राष्ट्रको पक्षमा गरेको कठोर संघर्षलाई लत्याएर पृथ्वी जयन्तीमा दिईने बिदाको समेत कटौती गर्नु उहां प्रतिको अपमान हो । लाग्छ राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानलाई भुल्नु जन्म दिने आमालाई भुल्नु बराबर हो । अझ भन्ने हो भने हिजोको राजा महाराजा र आजका राजनेतामा खासै तार्किक भिन्नता छैन । सामन्तबादी पुरातनबादी राजतन्त्र नेपालका लागि ठिक छैन भनेर गणतन्त्र ल्याए तर गणतन्त्रले पनि जनताका अपेक्षा पुरा गर्न सकेन । हिजो राजा महाराजाको अगाडी पनि सर्वसाधारणले घुडा टेकेकै थिए आज राष्ट्र प्रमुख समक्ष पनि घुडा टेकेकै छन् । बर्गीय बिभेद मुलुकमा झन झन जटिल बन्दै छ । त्यसैले तत्कालीन अवस्थामा पृथ्वी नारायण शाहले हाकेको शासन ब्यवस्था अहिलेका साशन ब्यवस्था भन्दा कैयौ गुणा गुणस्तरीय थियो भन्ने अनुमान गर्न सकिन्छ ।
पृथ्वी नारायण शाह नेपालको ईतिहासमा सफल र दुरदर्शी राजनेता हुन भन्ने कुरामा कुनै दोबिधा छैन । उनको भौतिक सरीर नभएपनि आम राष्ट्रप्रेमी बफादार र ईमान्दार नागरिकको मन मस्तीष्कमा अजर अमर छन र रहने छन् । अन्त्यमा पृथ्वी जयन्तीलाई निरन्तरता दिनका लागि सबै पक्ष सकरात्मक बन्ने आवश्यक छ । यस तर्फ राज्यको पनि ध्यान जावस भन्दै २ सय ९७ औ पृथ्वी जयन्तीका अवसरमा पृथ्वी नारायण शाह प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु ।
लेखिका पत्रकार हुन् ।