गल्कोट २०७५ माघ ४ । प्रगति आधारभुत विद्यालय गल्कोट नगरपालिका ७ मल्ममा विशेष बैठक सम्पन्न भएको छ । बैठकले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि, विद्यार्थी अनुसारको दरबन्दी, स्थानिय श्रोतका शिक्षकको आर्थिक व्यवस्थापन लगायतका विषयमा छलफल गरेको छ । विद्यालयलाई समय सापेक्ष अगाडी बढाउन यहि माघ ९ गते बृहत शैक्षिक अन्तरकृया गर्ने निर्णय गरेको छ ।
बैठकमा विद्यालयमा पर्याप्त विद्यार्थी भएर पनि स्थानिय सरकारले आवश्यकता अनुसार दरबन्दी प्रदान नगरेको हुॅदा नगरमा डेलिगेशन जाने, अभिभावक सॅग शैक्षिक जागरण कार्यक्रम गर्ने योजना तय गरिएको छ । माघ ९ गते आयोजना गरिएको शैक्षिक अन्तरकृयामा नगर शिक्षा समिति संयोजक, शिक्षा अधिकृत, श्रोत व्यक्ति, वडा सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षाप्रेमी लगायतलाई आमन्त्रण गर्ने विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले जानकारी दिए ।
सो अवसरमा विद्यालयलाई लामो समयदेखि निरन्तर सहयोग गर्नुहुने अभिभावक मेख बहादुर थापा र भारतीय सेनाबाट भर्खरै अवकाश प्राप्त गंगा बहादुर थापालाई सम्मान गरिएको थियो ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षाप्रेमी, समाजसेवी, स्थानिय युवाहरु लगायतको उपस्थिति रहेको थियो । बैठक प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता र सहायक प्रधानध्यापक कृष्ण प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।