निर्मल पौडेल पर्वत, २०७५ माघ १२ । शुक्रबार साँझदेखि पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेको छ। वाक्लो हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ ।
जिल्लाको उत्तरी भुभाग जलजला गाउँपालिकाको शालिजा, सिर्पु लेक जलजला कालाञ्जर क्षेत्र, वनौँ ,लेखफाँट, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे लेक र महाशिलाको चिसापानी खाडिको लेकमा तीन फिट बाक्लो हिउँ परेको स्थानियले वताएका छन्। धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीको भनाई छ।हिमपातले स्थानियको दैनिकी प्रभावित हुनुका साथै वस्तुभाउहरुलाई पनि दानापानि गर्न समेत समस्या भएको मल्लाजका हरि जिसीले जानकारी दिएका छन् । वाक्लो हिमपातका कारण गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्याएको स्थानीय कृषकले जानकारी दिएका छन् ।
गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ ।
समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीको भनाई छ।
पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ ।
लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् ।
चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालका फार्मेसिस्ट सम्राट पौडेलले जानकारी दिए ।