सुमन सुनार,बुर्तिबाङ २०७५ माघ १३ । फियरमेड फाउण्डेशन नेपालले ढोरपाटन नगरपालिका –१ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
फाउण्डेशनले नवजात शिशुलाई सिताङ्ग, निमोनिया तथा चिसोबाट जोगाउन प्रयोग गरिने बेबी वार्मर मेसीन र जन्डिस भएका नवजात शिशुको उपचारमा प्रयोग गरिने फोटो थेरापी मेसीन सहयोग गरेको हो ।
आज बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको अयोजना गरी उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको फियरमेड फाउण्डेसनेका बरिष्ठ कार्यक्रम अधिकृत गणेश बरुवालले जानकारी दिए । विवाईसी बागलुङ संगको साझेदारीमा फाउण्डेशनले ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्तर्गत “आमालाई बच्चा उपहार र बच्चालाई आमा उपहार” भन्ने मुल नाराका साथ मातृ मृत्यु दर र नवजात शिशु मृत्यु दरमा कमी ल्याउन सञ्चालन गरेको कार्यक्रम अनुसार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले स्वास्थ्य क्षेत्र निकै संबेदनशील क्षेत्र भएकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीले संयम भएर काम गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नेपालीले एक जना स्वास्थ्यकर्मीको लापर्वाहीका कारण धेरै सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले स्वास्थ्यकर्मीले आफ्नो काम र सेवा प्रवाहमा गम्भीर हुन आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्यको पहुचमा पु¥याउने उद्धेश्यले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्थापना गर्नका निम्ती आफुले पहल गरिरहेको जानकारी दिए ।
यस्तै नगर प्रमुख नेपालीले स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रलाई मध्यनजर गरी अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै फेयरमेड फाउण्डेशन र बिवाईसी.बागलुङलाई धन्यबाद समेत दिएका थिए ।
त्यस्तै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै फियरमेड फाउण्डेसनका बरिष्ठ कार्यक्रम अधिकृत गणेश बरुवालले नेपालमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर दरलाग्दो अवस्थामा रहेको र विभिन्न प्रयास गरिएपनि कमी आउन नसकेको भन्दै फाउण्डेशनले आमा र बच्चाको मृत्युदर घटाउन दुर्गम क्षेत्रबाट ग्रामिण स्वास्थ्य सूधार परियोजना मार्फत प्रयास थालेको बताए । फाउण्डेशनले पहिलो चरणमा पश्चिम बागलुङका तिन ओटा पालिकाहरु ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरेको अधिकृत वरुवालले जानकारी दिए ।
फाउण्डेशनले गरेको विभिन्न ठाउँको अध्यायनमा नेपालको संविधान २०७२ ले दिएको मापदण्ड अनुसार स्वास्थ्य सेवा १ घण्टा तथा २ घण्टाको दुरीमा पाउनु पर्ने भनिएपनि नागरिकले दिनभरीको यात्रा गरेपनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने स्थान बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका ग्रामिण भेगमा रहेको भेटिएका कारण पहिलो कार्यक्रम नै यी तिनओटा पालिकामा सञ्चालन गरिएको उनको भनाई थियो । जस अनुसार ढोरपाटन नगरपालिकाको ढोरपाटनमा बर्थिङ सेन्टर स्थापना, तमानखोला गाउँपालिकाको बोंगादोभान स्वास्थ्यचौकी र निसीखोला गाउँपालिकाको स्वास्थ्य चौकीमा ल्याब सर्भिस सेवा सुरुवात गरिसकेको अधिकृत बरुवालले बताए । मातृ मृत्युदर, नवजात शिशु मृत्युदर जस्ता स्वास्थ्य क्षेत्रमा हुने समस्या सामाधानका लागि फाउण्डेशनले ग्रामिण स्वास्थ्य सूधार परियोजना मार्फत विभिन्न सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरेको उनले जानकारी दिए ।
त्यसैगरी उनले यस्ता समस्या समाधान स्वास्थ्यकर्मी र कुनै संघ सस्थाको प्रयासले मात्र नुहने भन्दै हरेक नागरिकले स्वास्थ्यमा मेरो पनि दायित्व छ भन्ने बुझ्न आवश्यक रहेको बताए ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानिय समाजसेवी, बुद्धिजिवि, पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. कृष्ण हरी श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुबर्ण पौडेलले गरेका थिए ।