Sorry, that menu does not exist.
 

चारदिन देखीको निरन्तर हिमपातले ढोरपाटनको जनजीवन अत्यन्तै कष्टकर !
जलविद्युत आयोजनाको पोलहरु भाँचिए, सन्चार सम्पर्क ठप्प, ढोरपाटन हिँडेका पर्यटक बिचबाटै फर्किए !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७५ माघ १४ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा गत माघ ११ गतेबाट लगातार परिरहेको हिमपातका कारण जनजीवन निकै प्रभावित हुनुका साथै जनधनमा समेत क्षति पु-याएको छ ।

नेपालकै एकमात्रै शिकार आरक्ष समेत रहेको ढोरपाटन शिकार आरक्षमा आज पनि बिहानै देखी भारी हिमपात भईरहेको छ । हिमपातका कारण नगरपालिका वडा नम्बर ९ का सर्वसाधारण निकै प्रभावित बनेका छन । भारी हिमपातका कारण मोबाईल नेटवर्क तथा वडा नम्बर ९ मा रहेको भुजी खोला चौथो लघुजलबिद्युत आयोजना समेत अबरुद्ध बनेको सञ्चालक समितिका अध्यक्ष केशब पुन मगरले बताए । लगातार पानीसँगै परेको हिमपातले आयोजनाको १८ ओटा फलामका पोलहरु भाचिँएको र १० ओटा पोल बाङ्गिएको समेत पुनले बताए । करिब २२५ स्थानीयहरु लाभान्वित रहेका उक्त आयोजनाका उपभोक्ताहरु ३ दिन यता अध्याँरोमा बस्न बाध्य भएका छन ।

अहिले सम्म ढोरपाटनमा करिब करिब ४ फिट हिउँ परेको छ भने सुप्राङमा करिब करिब २ फिट सम्म हिउँ परेको स्थानियहरुले बताएका छन । चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन भने गाई,भैँसी,भेडा र घोडालाई घाँस एवं दाना संकलन गर्न गाह्रो भएको ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङका स्थानिय युवा धन बहादुर बिस्वकर्माले बताए । ढोरपाटन तथा निसीको उच्च क्षेत्रहरु हिमपातले डाँडा काडाँहरु अहिले ढाकिएका छन । लामो समयको खडेरीपछि पानीसँगै हिउँ परेपछि कृषकहरुले लगाएको जौँ र गहुँ बालीलाई राहत मिल्ने भएकाले पनि कृषकहरु खुशी देखिएका हुन ।

जिल्लाका उच्च पहाडहरुमा गत शुक्रबार बिहानै देखी हिउँ परिरहेको भए पनि तल्लो भागमा पनि यतिखेर पानी परिरहेकोे स्थानीहरुको भनाई छ । ढोरपाटन अवलोकन गर्न हिँडेका विभिन्न जिल्लाका टोलीहरु अत्यधिक हिमपातले गर्दा ढोरपाटन नपुगी फर्किरहेको स्थानिय युवा विश्वास बुढा मगरले बताए ।

भारी हिमपातले ढोर पुग्ने अवस्था त छैन बुढाले भने “तैपनि ढोरपाटनको हिमपात हेर्नको निम्ति भएपनि आन्तरिक पर्यटक जसोतसो फल्लेघर सम्म आईरहेका छन ।” आउने जाने पर्यटकहरुलाई खान बस्नको निम्ति होटलको समस्या भने नरहेको बुढा मगरको बताए ।

तस्बीर- दीपक पराजुली, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply