बागलुङ २०७५ माघ १४ । आज अपरान्ह देखी जिल्लाभरको मौसम एकदमै चीसो भएको छ । चारैतिर अँध्यारो भएर सिमसिम वर्षा सँगै जिल्लाको बिभिन्न भागहरुमा हिमपात भैरहेको ईबागलुङ सहकर्मीहरुले जानकारी दिएका छन् ।
सहकर्मी भरत सापकोटाकाले बिहुँबाट दिएको सूचनानुसार बिहुँमा यतिबेला हिमपातको रफ्तार जसरी बढेको छ, त्यस्लाई हेर्दा केहि दिन पहिले परेको हिउँ भन्दापनि बाख्लो पर्ने सम्भावन बढेको स्थानीयको अनुमान छ ।
उता गल्कोट उपत्यकामा पनि भारी वर्षा भएर चिसो झनै बढेको सहकर्मी घनश्यम गौतमले जनाएका छन् । यसैगरी बडीगाड गाउँपालिका भिङगिठेबाट सहकर्मी दिनेश शर्माले यस वर्ष यस भेगमा हिउँ धेरै तलताल झरेको छ । अहिले पनि वर्षा भैरहेको छ, चिसो बढेको जानकारी दिएका छन् । बुर्तिवाङबाट सहकर्मी टिकाराम भट्टराईले दिएको जानकारी अनुसार बुर्तिवाङमा फाटफुट वर्षा हुन सुरु गरेको छ, मौसम धमालधुमुल छ जाडो एकदमै बढेको छ । उनले ढोरपाटन नगरपालिकाको निसीखोला, अधिकारीचौर बोवाङ लगायतका स्थानहरुमा भारी हिमपात भैरहेको बताए ।
यसैगरी तमानखोला गाउपालिकामा पनि वर्षासँगै हिमपात भैरहेको र जाडो एकदमै बढेकोले स्थानीयहरु घर बाहिर निस्कन सक्ने अवस्था नभएको तमानबाट सहकर्मी बसन्त घर्तीमगरले जानकारी दिएका छन् ।
यसैगरी जिल्लाको दक्षिण भेगमा पनि दिनभर पानी परिरहेको भएपनि भरखर थामिएको सहकर्मी सन्ध्या आचार्यले जानकारी दिएकी छन् । बरेङ साईडमा समेत वर्षा र हिमपात भएरहेकोले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
तस्वीर- भरत सापकोटा बिहुँ ।