Sorry, that menu does not exist.
 

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्ति सम्मानित !

बागलुङ २०७५ माघ १६ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा सदरमुकाम स्थित सरकारी कार्यालयका प्रमुख, सार्वजनिक संस्थानका प्रमुख एवं सूचना अधिकारीहरु तथा पत्रकारहरुबीच मासिकरुपमा अन्तरक्रियात्मक कार्यक्रम हुने गरेको छ । कार्यक्रममा कार्यालय प्रमुखहरुले आआफ्ना कार्यालयहरुले बिगत महिनामा सम्पादित कार्यहरु तथा प्रगति प्रस्तुत गर्ने र सन्चारकर्मीहरुले कार्यालयहरुबाट संपादित कार्यहरुमा जिज्ञासाहरु राख्ने परिपाटी रहँदा अन्तरक्रियात्मक कार्यक्रमको विशेष महत्व रहने गरेको स्पष्ट छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने अन्तरक्रियात्मक कार्यक्रममा जिल्लाका विकासस निर्माण योजनाहरु, जिल्लामा निर्माणाधीन अवस्थामा रहेका अधुरा योजनाहरुको कार्यान्वयन, आम जनचासो रहने विद्युत, खानेपानी, स्वास्थ्य आदि विषयहरु मात्र नभएर जिल्लाको शान्ति सुरक्षा एवं विपद व्यवस्थापनका बारेमा अन्तरक्रियामा चर्चा परिचिर्चा हुने गरेकाले कर्मचारी र पत्रकारबीचको यो अन्तरक्रियात्मक कार्यक्रम निकै उपयोगी रहेको भन्नु अत्युक्ति हुने छैन ।

अन्तरक्रियात्मक कार्यक्रमकै क्रममा गत माघ १३ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न कार्यालयहरुबाट सम्पादित कार्यहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदन माथी सन्चारकर्मीहरुले प्रश्नहरु सोधेका थिए ।

सोहि अवसरमा केहि दिन पहिले म्याग्दी बेनीबाट नारायणगढलाई छुटेको यात्रुबाहक बस पर्वत मालढुंगामा दुर्घटना हुँदा म्याग्दी, पर्वत संगको समन्वयमा घाईतेहरुको उद्दार एवं उपचार कार्यमा उल्लेख्यनीय योगदान पुयाउने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपेन्द्र रेग्मी, धौलागिरी अन्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र पोख्रेल, सबै कार्यालयहरुसंग समन्वय स्थापना गरी जिल्लामा सन्चालित शिक्षकहरुको परीक्षा लगायतका कार्यहरु सफलतापूर्वक सम्पन्न गरेकोमा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुस्मराज उपाध्याय, सरकारी कार्यालयहरुको सरसफाई तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्ने शहरी बिकास तथा भवन निर्माण कार्यालयका सिडिई सच्चिन्द्र कुमार देव तथा जिल्ला निर्वाचन कार्यालयबाट आम नागरिकको घरदैलोमा गई मतदाता नामावली दर्ता संकलन कार्यमा सक्रियता देखाएकोमा जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र शर्मालाई सम्मानित गरिएको थियो ।

सोही अवसरमा दैवीप्रकोप तथा उद्धार तथा लागु औषधका बिरुद्ध जनचेतना फैलाउने कार्यमा योगदान गरेबापत पत्रकार नवीन शिशिर बिक तथा विपद व्यवस्थापन, भूकम्प दिवस तथा बजार अनुगमनमा सक्रिय भूमिका निर्वाह गरेकोमा उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठलाई प्रजिअ खरेलले सम्मानित गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply