पर्वत, २०७५ माघ १९ । ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयको पाङ शाखामा निर्माण गर्न लागिएको भवनको शनिवार शिलान्यास गरिएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरे । २०६४ सालमा स्थापना भएपनि अहिले सम्म कच्ची छाप्रोमा रहेको विश्वविद्यालयको पक्की भवन बनाउने काम शुरु भएको हो । ३० लाख रुपैयाँको लागतमा बन्ने पहिलो तलाको लागि विभिन्न चन्दा दाता र सहयोगीबाट रकम संकलन गर्दै निर्माण गरिने ब्रम्हकुमारी स्मृतिले बताईन् । भवन निर्माणका लागि ब्रम्हकुमार श्रीकृष्ण अर्यालको परिवारले जग्गा निशुल्क उपलब्ध गराएको हो ।
चारकोठा र शौचालय सहितको यो भवन निर्माणको क्रममा नगरपालिकाबाट पनि उचित सहयोग गर्ने जोशीले बताए । मानव चरित्र निर्माणका लागि इश्वरीय विश्व विद्यालयका प्रशिक्षण लिन समेत उनले सबैलाई आग्रह गरे । नगरपालिकाले चालु बर्ष ५ लाख रुपैयाँ स्थान सम्म सहयोग गर्ने उनले आश्वासन समेत दिएका छन् । पाङलाई धार्मिक दृष्टीले पार्वतीको जन्मस्थानको रुपमा समेत लिइन्छ । भवन निर्माणका लागि कुश्मा नगरपालिका वडा नं. १ का अध्यक्ष देबेन्द्र सुवेदीले १ लाख रुपैयाँ सहयो गर्ने बताए ।
ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय धौलागिरीकी प्रमुख साबित्री दिदीको अध्यक्षता, योगनाथ कंडेलको संचालन र संस्थाकी संचालिका भवानी दिदीको स्वागतमा सम्पन्न शिलान्यास कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख सीतादेवी लामिछाने, वडा अध्यक्ष देबेन्द्र सुवेदी, कुश्मा शाखाकी संचालिका राधिका दिदी, बेनी शाखाकी संचालिका रिना दिदी लगायतले बोलेका थिए ।
सामाजिक क्षेत्रका दाताको सहयोगमा विश्व विद्यालयका अधिकांस शाखाका भवन निर्माण भैरहेकोले यो भवन निर्माण पनि समयमै सम्पन्न हुने सहभागिले बताएका थिए ।
भवन निर्माणका लागि संस्थामा नियमित आउने बिद्यार्थीले समेत सहयोगको प्रतिवद्धता जनाएका थिए । भवन शिलान्यास कार्यक्रममा विभिन्न शाखाबाट सहभागिले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।