पर्वत, २०७५ माघ २२ । साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम शुरु भएको छ ।
इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा नं. ६, ७ र ८ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको छ ।
कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
समुहमा आवद्ध भएर कुखुरापालन, तरकारी खेती गरेर आयआर्जन गरी वचत गर्ने, गाउँ टोल सरसफाई लगायतका सामाजिक कार्यमा क्रियाशिल रहेको तालिमका सहभागी पञ्चकोशी महिला समुह मोदी गाउँपालिका ८ की सुष्मिता पौडेलले बताए ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्रोत र साधनको अधिकतम उपयोगका लागि युवा महिलाहरुलाई व्यवसायमा आवद्ध गराउनु पर्नेमा जोड दिए ।
आयआर्जन बढाउन, कमाएको पैसा वचत गर्न तथा सामाजिक सम्बन्धलाई राम्रो बनाउनका लागि सहकारी माध्यम उत्तम हुने भन्दै उनले कमाउनु जत्तिकै जोगाउन आवश्यक रहेको बताए । सहकारीको हिसाव व्यवस्थित गर्नका लागि लेखा सम्बन्धी जानकारी सबैलाई आवश्यक रहेको उनको भनाइ थियो ।
तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक गंगा नेपालीले जानकारी दिए ।