Sorry, that menu does not exist.
 

नाबालक बिद्यार्थी कुटपीट गर्ने नमुना प्रावि, सेरावाङकी प्रअको नमुना काम : जो चोर उसैको ठुलो स्वर !

बुर्तिवाङ २०७५ माघ २४ । ढोरपाटन नगरपालिका ८ बोवाङको सेरावाङ स्थित नमुना प्राथमिक विद्यालयकी प्रधानाध्यापिका हिरादेवी बुढा मगरले आफ्नै विद्यालयको कक्षा २ मा अध्ययनरत बिपन्न परिवारका ५ वर्षका विद्यार्थी सन्जय वि.क., उनकी दिदी जानमला वि.क. र आफन्त गोमला सुनारलाई गत माघ २० गते निर्ममतापूर्वक कुटपिट गरेको घटनालाई लिएर पीडितहरुले वडाध्यक्ष लगायत विभिन्न स्थानमा हारगुहार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङको आदेशानुसार पीडित पक्षलाई नै बागलुङ पठाईदिनु भन्ने आदेशानुसार जिल्ला प्रहरी कार्यालय बागलुङ सम्पर्क जानु भन्ने पत्र ढोरपाटन प्रहरी चौकी बोवाङले आज पत्र थमाई दिएपछी उनिहरुको बिचल्ली भएको छ । प्रहरीले थमाई दिएको पत्र लिएर पीडितहरु आज बिहीबार बुर्तिवाङ बजारमा आएका छन् ।

बिहान बेलुकी हातमुख जोर्न समेत धौ धौ भएको पीडित परिवार बागलुङ सदरमुकाम सम्म जाने गाडीभाडा समेत नभएपछी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली समक्ष गुहार मागेपछी नगरपालिकाबाट रु १० हजार बाटोखर्च उपलव्ध भएकाले भोलि बिहान सदरमुकाम जाने भएका छन् । प्रधानाध्यापिका बुढामगर घटनाले उग्ररुप लिने खतरा देखेपछी सिधै जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेर उल्टै पीडित पक्षमाथी नै उजुरी दिएकीले छलफलका लागी जिल्ला प्रहरी कार्यालय बागलुङ झिकाईएको श्रोतले बतायो । प्रअ बुढाको कुटपीटबाट सन्जय वि.क.को निधार र टाउकोमा चोट लागेको छ भने उनकी दिदी जानमला वि.क.को शरीर, टाउको र ढाडमा निलडाम सहितको चोटहरु रहेको छ । त्यसैगरी आफन्त गोमला सुनारलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेर ५ ओटा टाँका लगाइएको पीडितहरुले बताएका छन् ।

घटना विवरण अनुसार प्र अ हिरादेवी बुढाले गत माघ २० गते विद्यालय समयमा आफ्नै विद्यार्थी सन्जय वि.क.लाई मोबाइलको रिचार्ज कार्ड किनेर ल्याउन भनी २ सय रुपैयाँ दिएको र निज बालकले रिचार्ज कार्ड किन्न जाँदा १ सय रुपैयाँ हराएपछि १ सय रुपैयाँको मात्र रिचार्ज कार्ड ल्याएर दिएपछि पैसा किन हराएको भन्दै एक्कासी निज सन्जय बि.क.लाई प्रअ बुढाले निर्मम रुपमा कुटपिट गरेको श्रोतले बतायो ।

बालक लामो समयसम्म चिच्चाई कराई गरि रोइ रहँदा समेत कुटपिट गर्न नछाडेपछि सन्जयकी दिदी जानमला वि.क.ले भाइलाई नकुट्नुहोस्, हजुरको पैसा बेलुकी आमा ढोरपाटनबाट आएपछि दिउँला भनी अनुरोध गर्दा समेत आरोपित बुढाले उल्टै जानमलामाथि पनि जाइलाग्दै मरणासन्न हुने गरी कुटपिट गरेको पीडितको भनाइ छ । त्यसपछि शरीरमा लगाएका कपडा र कपाल लुछ्दै दुबैलाई निर्मम रुपमा कुटपिट गरेको देखेपछि यसो नगर्नुहोस् भन्दै पीडितका आफन्त वर्ष ३१ की गोमला सुनार छुट्टाउन जाँदा उनीमाथि पनि निज बुढाले कुटपिट गरी ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुङ्गा प्रहारबाट गम्भीर चोट लागेपछि तीनै जनालाई आफन्त र स्थानीयहरुले नजिकैको नमस्ते मडिकलमा उपचार गराएका थिए । घटनापछि आरोपित प्रअ बुढामगरले उल्टै तथानाम गाली गलौंच र जातीय विभेद हुने अपशब्द बोल्दै आफूलाई कसैले केही गर्न नसक्ने बताएको पीडितहरु बताउछन् ।

घटनापछि आरोपित बुढा उल्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिन हिडेकी थिईन् । त्यसको लगत्तै भोलिपल्ट पीडितका आफन्तहरुले वडा अध्यक्ष नन्दे सुनारलाई न्याय पाउँ भनी निबेदन दिएका थिए । वडा अध्यक्षले समेत यस बारेमा कुनै छलफल गराउन नसकेपछि पीडितका आफन्तले ढोरपाटन प्रहरी चौकीमा माघ २१ गते नै लिखित उजुरी दिएका थिए ।

तर प्रहरी चौकीले पनि यस बारेमा कुनै चासो नदिईरहेको अवस्थामा ४ दिनपछि एक्कासी ‘तिमीहरु जिल्ला प्रहरी कार्यालय बागलुङ जानुपछर्’ भनी पत्र थमाएपछि आफूहरु न्यायको लागि आजै ढोरपाटन नगरपालिकामा आएको पीडितहरुले बताए ।

उक्त घटनाको विषयमा आज ढोरपाटन नगरपालिकामा पीडित पक्ष र दलित संघसंस्थाका प्रतिनिधि एवं दलित अधिकारकर्मीहरुले दोषीलाई कडाभन्दा कडा कार्वाही गरी कानुनी दायरामा ल्याई पीडितलाई क्षतिपूर्ति सहित न्याय दिनुपर्ने बताएका छन् । यसबारेमा आफू गम्भीर भएको र घटनाको सत्य तथ्य बुझी दोषीलाई कार्वाही गर्न सुरक्षा निकायसंग परामर्श भइरहेको नगर प्रमुख देव कुमार नेपालीले बताए ।

घटनाकी आरोपित प्रअ बुढामगरले जिल्ला प्रहरी कार्यालयमा गई उल्टै उजुरी दिएपछि यतिबेला जिल्ला प्रहरी कार्यालयले पीडित पक्षहरुलाई जिल्लामा झिकाएको छ । प्रहरीले घटनामा संलग्न नै नभएका पीडितका अभिभावक चन्द्र कामी, उनकी श्रीमती काली कामी, बुहारी आसमाया कामीलाई समेत घटनाको अनुसन्धानका लागि भनी जिल्लामा झिकाएको छ । घटना घटेपछि घटनामा संलग्न दोषी नै यहाँ नभएको र जिल्लामा गएको बुझिएकाले जिल्ला प्रहरी कार्यालयको आदेश अनुसार निजहरुलाई पत्रसाथ पठाइएको ढोरपाटन प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर चुदालीले बताए । ढोरपाटन प्रहरी चौकीको आजै माघ २४ गतेको चलानी नं.३९ को पत्रअनुसार निजहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा उपस्थित हुन पठाइएको व्यहोरा उल्लेख छ ।

उक्त घटनाको विषयमा आजै दलित अधिकारकर्मीहरु सहित पीडितका अभिभावकहरुले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा समेत जातीय विभेद र फौजदारी अभियोग सहितको कानुन कार्वाहीको माग गर्दै लिखित उजुरी दिएका छन् । घटनाको सबै जानाकारी जिल्लामा भइसकेको र जिल्ला प्रहरी कार्यालयबाट नै आवश्यक कानुनी कार्वाही अगाडि बढ्ने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओम प्रकाश यादबले बताए ।

श्रोतका अनुसार घटनामा संलग्न आरोपित प्रअ हिरादेवी बुढा मगर यसभन्दा पहिला पनि हिमालय आधारभूत विद्यालयमा अध्यापन गराउँदा विद्यालयका प्र.अ. बोधराज अर्यालमाथि नै हातपात गरेकी थिइन् भने त्यसपछि काज सरुवा भई उत्तरगंगा मा.वि.मा गएपछि विद्यालयका प्र.अं इश्वरी प्रसाद पौडेलमाथि हातपात गरी उल्टै जिल्लामा गएर उजुरी दिएकी थिइन् । त्यसपछि सरुवा भई नमुना प्रा.वि.सेराबाङमा सरुवा भएकी थिइन् । त्यहाँ पनि उनको व्यवहारमा परिवर्तन नआएको र उनको यस्तै व्यवहारको कारण विद्यार्थी, अभिभावक लगायत स्थानीयबासीहरु आजित बनिरहेको स्थानीयको भनाई छ । यही कारणले अहिले विद्यालयमा विद्यार्थीहरु समेत सुरक्षित हुने अवस्था छैन भने विद्यार्थी संख्या समेत घटदै ग्एको अभिभावकको भनाइ छ । यस पटकको घटनाले भने शिक्षक जस्तो मर्यादित पेशामा रहेको व्यक्तिले यस प्रकारको कार्य गर्दा सम्बन्धित निकाय र जिल्ला प्रहरी कार्यालयले उल्टै पीडितहरुमाथी नै कार्वाही गर्ने हो कि भन्ने आम अभिभावक एवं सबैको चासो र चिन्ताको विषय बनेको छ ।
तस्वीर- प्रअ बुढा र पीडितहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply