बागलुङ, २०७३ चैत ५ । महिलाहरुद्वारा सञ्चालित सहकारीहरुको लेखा प्रणालीलाई व्यवस्थित गर्नुका साथै महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ महिला तथा बालबालिका कार्यालय बागलुङले एक हप्ते व्यक्तित्व विकासका लागि सहकारी लेखापालन तालिम शुरु गरेको छ ।
महिला विकास कार्यालय बागलुङको सहयोगमा जिल्लामा २७ वटा सहकारी संस्थाहरु सञ्चालन रहेका छन् । महिलाहरुले सञ्चालन गरेका सहकारीको व्यवस्थापनलाई प्रभावकारी बनाउदै महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको महिला विकास अधिकृत सीता अधिकारीले बताईन् ।
१५ वटा महिला सहकारी संस्थाका लेखा सम्बन्धी काम गर्ने सञ्चालक, लेखा समितिका सदस्य तथा व्यवस्थापक गरी ३० जनाको सहभागिता रहेको तालिममा लेखा सम्बन्धी सम्पूर्ण जानकारीका साथै सहकारीकर्मी महिलाहरुको क्षमता वृद्धि सम्बन्धी सहजीकरण गरिने महिला विकास निरीक्षक सरस्वती शर्माको भनाई थियो ।
तालिममा लेखाको परिचय, लेखाङ्कनका नियमहरु, भौचर तयारी र चार खाता तथा सहायक खातामा प्रविष्टि, सन्तुलन परीक्षण, नाफा वितरण लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।
७ दिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, बैंकको बागलुङ शाखाका प्रमुख सुरेश खनाल र एकता सहकारी संस्था लिमिटेड बागलुङका प्रवन्धक दिपक राजभण्डारीले सहजीकरण गर्ने महिला विकास निरीक्षक शर्माले जानकारी दिईन् ।