सुमन सुनार बुर्तिवाङ २०७३ चैत ५ । ढोरपाटन नगरपालिका बुर्तिबाङ स्थित जनसञ्चार सहकारी संस्था लि तथा सामुदायिक रेडियो परिवर्तनको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापना भएको सहकारी र सहकारीले गरेको पहिलो लगानी रेडियो परिवर्तन हो । पश्चिम बागलुङको दुरदराजमा रहेका समुदायलाई सूचना र सञ्चारका माध्यमबाट सु—सूचित बनाउने उद्धेश्यले यहाँका विभिन्न सामाजिक व्यक्तित्वहरुको लगानीमा उक्त दुवै संस्था सञ्चालनमा छन् ।
छैठौं वर्ष प्रवेशसँगै संस्थागत विकास, वर्तमान अवस्थाको शेयर तथा लगानीकर्तालाई जानाकारी र भावी कार्ययोजना निर्माणका लागि आयोजित साधारणसभाले दुई महत्वपूर्ण निर्णयलाई पारित गरेको छ । साधारणसभाले संस्थागत विकासका लागि यस अघि नै भवन निर्माणका लागि जग्गा खरिद गरिसकेकाले अबको पाँच वर्षमा रेडियो तथा सहकारीको आफ्नै भवन निर्माण गर्ने पञ्चवर्षिय रणनैतिक योजना पास गरेको छ । यसका लागि सञ्चालक समितिलाई एक कार्यदल गठन गरि योजना बनाउने अधिकार समेत प्राप्त भएको छ । साथै उक्त योजनाका लागि संस्थाले यस वर्षको लाई भवन निर्माण कोषमा राख्ने सहमति भएको छ ।
संस्थाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नेपाल बैंक लिमिटेड बुर्तिबाङका शाखा प्रमुख सुरज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै बैंकका प्रबन्धक घिमिरेले, समुदायलाई सुसूचित गर्न विभिन्न विचार भएका सामाजिक व्यक्तित्वको पहल र सक्रियतामा सहकारी स्थापना गरि सञ्चारमाध्यम जस्तो महत्वपुर्ण आम सञ्चार माध्यम सञ्चालन गर्नु एक महत्वपूर्ण कार्य गरेको भन्दै यसका सञ्चालक, लगानी कर्ता र कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई शुभकामना दिएका थिए ।
उनले दुरदराजका जनतालाई सूचना र सञ्चारबाट जागरुक बनाउने र एककालागि सबै र सबैका लागि एक बनाउने सहकारीबाट आफ्ना सदस्यहरुको आय आर्जनमा समेत महत्वपूर्ण भुमिकामा रहेको सहकारीको प्रर्वधनमा यसका सञ्चालकहरु सचेत भएर लाग्न सकेत आग्रह समेत गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष निमलाल पाण्डे, जेष्ठ शेयर सदस्य तथा समाजसेवी तुल्सीराम उपाध्याय, शेयर सदस्य शेरमान घर्ति मगर, सञ्चालक समिति सदस्य कमला पाण्डे, धनबीर भण्डारी, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, बुर्तिबाङ एफएमका स्टेशन म्यानेजर कृष्ण कँडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सचिव धनबहादुर महतको सञ्चालन तथा स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनमा औपचारिक उदघाटन कार्यक्रम सम्पन्न भएको थियो भने साधारणसभाले विभिन्न तिनवटा संस्थागत प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना पारित गरेको थियो ।
बन्दसत्रले संस्थाका सचिव धनबहादुर महतले प्रस्तुत गरेको संस्थागत प्रगति प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष टीका बहादुर पुनले प्रस्तुत गरेको वर्तमान आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना र रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले प्रस्तुत गरेको संस्थाको वर्तमान प्रगति प्रतिवेदन तथा भावी पञ्चवर्षिय रणनीतिक योजना र वार्षिक कार्ययोजनालाई सभाले पारित गरेको छ ।
प्रतिवेदनमा सहकारीमा बचत तथा ऋण नीति, भवन निर्माण, पत्रकारहरुको न्युनतम पारिश्रकिमको कार्यान्वयन, वार्षिक कार्ययोजना, रेडियोको वार्षिक उत्सव कार्यक्रम, संस्थागत कार्ययोजना सहितको क्यालेन्डर छपाई, पत्रकारिता तालिम, पत्रकार तथा कलाकर्मी र स्रष्टा सम्मान तथा शेयर सदस्य र विज्ञापनदाता सम्मान कार्यक्रमलाई पारित गरेको छ । बन्दसत्रमा अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता, सदस्य रिम प्रसाद पौडेलको सञ्चालन रहेको थियो ।