दिनेश शर्मा, बागलुङ २०७५ फागुन २ । जिल्ला बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समन्वय समिति बागलुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षतामा बुधवार बसेको बैठकमा एभियन इन्फ्ुएन्जाको बर्तमान अवस्था र पंक्षी तथा पंक्षीजन्य सामाग्रीहरुको ओसार पसार तथा घरपालुवा पंक्षी लगायत चराचुरुंगीहरुको अप्रत्याशित मृत्यु सम्वन्धमा छलफल भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजनामा भएको सो बैठकले देशमा बर्ड फ्लू रोग नदेखिएको भएता पनि मौसमको परिवर्तन सँगै यो रोगको जोखिम बढ्ने भएकाले घरपालुवा पंक्षी, पंक्षीसंग सम्वन्धित पदार्थहरुको ओसार पसारमा सरोकारवाला निकायहरुले विशेष सतर्कता अपनाउन र जिल्लाको कुनैपनि क्षेत्रमा कुखुरा लगायतका चराचुरुंगीहरुको अप्रत्याशित मृत्यु भएमा त्यस्को सूचना तत्काल स्थानीय निकाय, प्रशासन तथा भटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जानकारी गराउने निर्णय गरेको छ ।
बैठकमा समन्वय समितिका सचिव एवं भटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा नारायण प्रसाद शर्माले बर्डफ्लू का बारेमा जानकारी गराएका थिए ।
बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुका प्रनाउ चिरन्जीवी कोईराला, बानपा वडा नं २ का अध्यक्ष जीवन आचार्य, अर्जुनवाण गणका सेनानी चन्द्रदेव पाण्डे, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।