Sorry, that menu does not exist.
 

लखन थापाको स्मृतिमा दीप प्रज्वलन : थापालाई प्रथम सहिद घोषणा गर्न माग !

बागलुङ २०७५ फागुन २ । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको १ सय ४२ औं स्मृतिको दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ बागलुङले दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलन कार्यक्रमममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं धौलागिरि बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापाले लखन थापालाई राज्यले उचित सम्मान गर्न नसकेको गुनासो गरे । ‘नेपालमा प्रजातन्त्रको बीज रोप्नका लागि ज्यानको आहुती दिने प्रथम सहिद लखन थापालाई उचित सम्मान दिन सरकार हिचकिचाईरहेको छ,’ उनले भने,‘लखन थापा आफैमा भारतीय सेनाको क्याप्टेन थिए, उनी आफ्नो लागि विद्रोह गरेका थिएनन् । जनताको लागि आवाज उठाउँदा ज्यान गुमाएका हुन् ।’

तत्कालीन राणा शासन जंगबहादुरको विरोधमा आवाज उठाउँदा लखन थापा सहित ७ जनाले ज्यान गुमाएकाले उनीहरुलाई सहिदको रुपमा उचित सम्मान गर्नु राज्यको दायित्व हुने बताए । ‘लखन थापा मगर भएका कारण मगर समुदायले सम्मानको माग गर्नुपर्ने विडम्बना पूर्ण अवस्था छ,’ उनले भने,‘प्रजातन्त्रका लागि आफ्नो ज्यानको सहादत दिने पहिलो व्यक्ति भएका कारण सम्मान राज्यले गर्नुपर्छ । सहिदहरु कुनै जाति, भाषा, समुदाय विशेषको हुनुहुँदैन ।’ चौतर्फी दबाबका कारण सरकाले लखन थापालाई सहिदको रुपमा स्वीकार गरे पनि सहिदको रुपमा सम्मान गर्न नसकेको उनको गुनासो छ ।

नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस ईकाई सभापति पर्वत श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर विद्यार्थी संघका सहसचिव अनुप बुढाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply