कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत ६ । निसीखोला गाउँपालिकाको केन्द्र जनसंख्या र भुगोलका आधारमा पायक पर्ने स्थानमा नभएको भन्दै विरोध सुरु भएको छ ।
सबैलाई पयक पर्ने स्थानमा राख्न माग गर्दै आईतवार निकालिएको जुलुस निसीखोला गापा १ देविस्थानमा पुगेपछी कोणसभामा परिणत भएको थियो । कोण सभामा नेकपा एमालेका जिल्ला सदस्य रुद्र पौडेल, राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही र जुन विक्रम शाही, माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका हुतराज भुषाल, महिला अगुवा भानिकला रेग्मीले गाउँपालिकाको केन्द्र निसीको भल्कोट, निसेलढोर तथा राजकुतको पनि सबैभन्दा टाढाको ठाउँ देखि विचमा पर्ने स्थानमा केन्द्र तोक्न माग गरेका थिए । उनिहरुले साबिकको देबिस्थान गाविसको कार्यालय रहेकै स्थानमा केन्द्र तोक्दा निसी र बोहरागाउँका बासिन्दालाई अन्याय भएको बताए ।
नेपाल सरकारले राजपत्रमा प्रकाशन गरि अहिले कार्यान्वयनमा आएको निसीखोला गाउँपालिकाको केन्द्र वडा नम्बर–१ अर्थात साबिकको देविस्थान गाविसको कार्यालय रहेको स्थान भनेर उल्लेख गरिएको छ ।
यसअघि जिल्ला प्राबिधिक समितिले गरेको प्रस्ताबमा देविस्थानको झिवाखोलामा केन्द्र रहने उल्लेख थियो । झिवाखोला केन्द्र राखिए देविस्थान र राजकुतलाई अपायक पर्ने भन्दै साबिक दुबै गाविसका अगुवाले झिवाखोला केन्द्र मान्न नसकिने भन्दै त्यतिबेलाको प्रस्ताबित ढोरपाटन नगरपालिकामा जाने अडान राखेका थिए ।
दुई गाविसको अडानपछि जुनसुकै अबस्थामा निसीखोला गाउँपालिका बनाउनुपर्ने भन्दै देविस्थानको खाडु केन्द्र राख्ने कुरामा निसी र बोहरागाउँका अगुवाले सहमती जनाएका थिए ।
स्थानिय तहको संख्या तथा सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिबेदन बुझाएपछि राजपत्रमा प्रकाशित हुँदा अहिलेलाई गाउँपालिकाको केन्द्र साबिक देविस्थान गाविसको कार्यालय रहेको ठाउँ देविस्थान बजार रहने भएपछि बिरोध सुरु भएको हो ।
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले तयार गरेको स्थानिय तहको कार्यान्वयका लागि जारी गरिएको आदेशमा स्थानिय तहको केन्द्र तोक्ने अधिकार स्थानिय सभालाई रहने उल्लेख गरिएको छ । स्थानिय निर्वाचनपछि बन्ने जनप्रतिनिधि रहेको गाउँसभाको बहुमतको निर्णयले केन्द्र तोक्नका लागि केन्द्रमा सिफारिस गर्न सक्ने र त्यो निर्णय राजपत्रमा प्रकाशन भएपछि लागु गर्न सकिने उल्लेख छ ।
यस अघि फागुन ३ गते देविस्थाका राजनितिक दलका अगुवाले बिज्ञाप्ती जारी गरि देविस्थान बजार केन्द्र राख्दा सबैलाई पायक नपर्ने भन्दै पायक पर्ने ठाउँमा केन्द्र तोक्न माग गरेका थिए ।
सो बिज्ञप्तिमा एमालेका नरबहादुर शाही, माओवादी केन्द्रका नन्दबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका रामबहादुर चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघध्वज मल्लले हस्ताक्षर गरेका थिए ।
पयक पर्ने ठाउँमा केन्द्र तोक्नका लागि दवाव दिन भोली सर्बदलय बैठक बसेर कार्यक्रम तय गर्ने तयारी भएको छ ।