कविता घर्तीमगर, पोखरा २०७४ फागुन ९ । नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । पत्रकार महासङ्घको केन्द्रीय साधारण एवं विधान अधिवेशनको फागुन बिहीबार र शुक्रबार पोखरामा हुँदैछ ।सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा हुन गइरहेको सो अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्ष घोषणा गर्दैछन् ।
त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, राजपाका लक्ष्मणलाल कर्ण लगाएतका नेताहरुको समेत कार्यक्रममा सहभागिता रहने भएको छ । देशभरिका पत्रकार माझ भ्रमण वर्ष घोषणाले सूचनाको प्रवाह एकैसाथ चारैतिर पुग्ने भएकाले पनि यो भेलाले पर्यटन व्यवसायीलाई निकै उत्साहित बनाएको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेल बताउँछन् । होटल एशोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चल अध्यक्ष विकल तुलाचन सरकारले आन्तरिक भ्रमण वर्षको घोषणाको तयारी गरिरहँदा देशभरिका पत्रकारको भेला पोखरामा हुनु निकै प्रशंंसनीय पक्ष रहेको बताए ।
विभिन्न जिल्लाहरुबाट आउने पत्रकारहरुका लागि पोखराका विभिन्न होटलहरुको ६ सय ५० वटा कोठा रिजर्भ गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमितिहरु ठगन गरिएकाले तयारी भव्य रुपमा अगाडि बढेको आयोजकले जानकारी गराएको छ । बिहीबार दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रम भन्दा अगाडि भने ¥यालीको आयोजना गरिने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया पर्यटनको प्रचारप्रसारमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यो भेलाले पोखराको पर्यटनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्छन् । ‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिन पोखरामा केन्द्रीय साधारणसभा र विधान अधिवेशन हुँदैछ । सोको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।