Sorry, that menu does not exist.
 

हिमालय आँखा अस्पतालका विशेषज्ञ डाक्टरको टोली बुर्तिबाङ आइपुग्यो !
शुक्रबार देखी बुर्तिबाङमा सञ्चालन हुने ३ दिने निःशुल्क आँखा शिविरको सम्पूर्ण तयारी पुरा !

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन ९ । भोलि देखि ढोरपाटन नगरपालिका –१ बुर्तिबाङमा सञ्चालन हुने निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविरको सम्पुर्ण तयारी पुरा भएको छ ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त निःशुल्क आखाँ शिविरका लागि स्वयं सेवक व्यवस्थापन, बिरामीहरुका लागि खानपिन र आवासको व्यवस्थापन, समन्वय र बिरामीको बसाई व्यवस्थापन लगायतका सम्पुर्ण तयारी पुरा भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले ईबागलुङलाई जानकारी दिए ।

शिविरका लागि हिमाल आँखा हस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. हरिमायाँ गुरुङ सहित ७ जना विशेषज्ञ डाक्टरहरुको टोली आजै बुर्तिबाङ आइपुगेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.कृष्णहरी श्रेष्ठले बताए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने उक्त शिविरमा आँखाका रोगीहरुको निःशुल्क रुपमा चेकजाँच तथा उपचार, मोतीविन्दु भएका विरामीहरुको निःशुल्क अपरेशन गरिनुका साथै औषधी र चस्मा समेत निःशुल्क वितरण गरिने मेडिकल अधिकृत डा. श्रेष्ठले बताए । डा. श्रेष्ठले शिविरबाट विशेष गरी गरिव तथा विपन्न परिवारका नागरिक सहित बृद्ध, बृद्धा र बालबालिका लाभांन्वित हुने भन्दै यसको फाइदा लिन सवैमा अनुरोध समेत गरेका छन् ।

फागुन १०, ११ र १२ गते गरी तीन दिन सम्म सञ्चालन हुने शिविरमा जटिल खालका अपरेशन गर्नुपर्ने विरामीहरुका लागि खान, बस्नका लागि ढोरपाटन नगरपालिकाले व्यवस्थापन गर्नेछ भने ओढ्ने बिछ्याउने सामाग्री र कुरुवाको व्यवस्थापन विरामी आफैले गर्नुपर्ने उनले बताए । शिविरमा पश्चिम बागलुङका ढोरपाटन सहित बडीगाड, निसी, र तमानखोला लगायत आसपासका क्षेत्रका करिव ५ देखि ६ हजार जना आँखाका रोगीहरुले सेवा लिने अपेक्षा गरिएको मेडिकल अधिकृत श्रेष्ठको भनाई छ । यस अघिका शिविरमा नाम दर्ता तथा टिकट बापतको शूल्क लिइदै आएकोमा यस पटक भने पूर्ण रुपमा निःशूल्क गरिएको डा श्रेष्ठले बताए ।

शिविरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कर्मभुमी फाउण्डेशनलाई स्वयं सेवक व्यवस्थापन, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङलाई बिरामीहरुका लागि खानपिन र आवासको व्यवस्थापन, समन्वय र बिरामीको बसाई व्यवस्थापनका लागि ढोरपाटन नगरपालिका र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिम्मेबारी दिइएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।

शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट आएका विशेषज्ञ डाक्टरहरुको टोलीलाई खान, बस्नको व्यवस्था नगरपालिका आफैले गरेको अधिकृत पोखरेलको भनाई छ । शिविर सम्पन्न गर्नका लागि नगर कार्यपालिकाको निर्णय अनुसार सम्पुर्ण खर्च नगरपालिकाले व्यहोर्ने र करिव २ लाख ५० हजार खर्च अनुमान गरिएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply