खेमराज अर्याल, बुर्तिबाङ २०७५ फागुन १० । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको कर्मभूमि फाउण्डेसनले आज निसिखोला गाउँपालिकाको वडा नम्बर १ हर्पेमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक तथा स्टेसनरी सामान वितरण गरेको छ । फाउण्डेसनले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी मध्य १६ जनालाई बिभिन्न बिधामा छात्रबृत्ति बितरण गरिएको जनाएको छ ।
विद्यालयमा रहेका गरिब तथा जेहन्दार १ जना छात्र र १ जना छात्रा त्यसैगरी दलित छात्र १ र छात्रा १ गरी कुल ४ जनालाई विद्यालय पोषाक वितरण गरिएको हो भने अन्य विधा अन्र्तगत जनजाति, दलित ,अनुसासन, ब्यक्तिगत सरसफाई ,खेलकुदमा उत्कृष्ट, विज्ञान विषयमा उत्कृष्ट र बिद्यालय उत्कृष्ट एक एक जना छात्रछात्रा गरी कुल १२ जनालाई स्टेसनरी सामान वितरण गरिएको फाउण्डेसनका अध्यक्ष कमल भुषालले जानकारी दिए ।
उक्त संस्थाले हालसम्म ढोरपाटन नगरपालिकाका जनजागृति आधारभूत विद्यालय कुत्थाप्ला, गंगा प्राथमिक विद्यालय खप्तरिबाङ, सरस्वती प्राथमिक विद्यालय भब्रेटा देउराली प्राथमिक विद्यालय पुर्कोटमा छात्रवृति वितरण गरिसकेको छ भने घोसाखानी आधारभुत विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
फाउण्डेसनले अहिलेसम्म विभिन्न सहयोगदाताबाट संकलित रकमबाट छात्रवृत्ति वितरण गर्दै आएको र आजको कार्यक्रम न्यु मारिया मन्टेश्वरी बुर्तिबाङको सौजन्यमा गरिएको अध्यक्ष भुषालले ईबागलुङलाई बताए ।
कार्यक्रममा प्रमूख अतिथि निसीखोला गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर मल्लले फाउण्डेसनले सामूदायिक विद्यालयको शैक्षिक स्तर सुधार र विद्यार्थीमा उत्प्रेरणा जगाउने काम गरेको भन्दै सरहाना गरेका थिए । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष भुषाल महासचिव सतिस कुमार सिंह न्यु मारिया मन्टेश्वरीका सञ्चालक पुर्णप्रसाद सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बुढाको अध्यक्षता वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर मल्लको प्रमूख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक दिनु राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो ।