गल्कोट २०७३ चैत ८ । गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले बिगत ४ वर्ष देखी नयाँ वर्षका अवसरमा घुम्टेमा आयोजना गर्दै आएको लाली गुराँस उत्सव नयाँ वर्ष २०७४ को अवसरमा पनि गर्ने भएको छ ।
गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले ३, १२० मिटरको उचाइमा रहेको पर्यटकीय घुम्टे लेकमा आयोजना गरिने लाली गुराँस उत्सव आगामी चैत ३१ र वैशाख १ गते मनाईने आयोजकले बताएका छन् । गत वर्षको घुम्टे लाली गुराँस उत्सव भने ताराखोलाको किनारमा रहेको गाईघाटमा गरिएको थियो ।
जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतको भनाई छ । घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको अध्यक्ष बस्नेतले भने ।
उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिने भएको आयोजकले बताएका छन् ।
केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक दृष्टिकोणले घुम्टे लेक महत्वपूर्ण मानिन्छ ।