कोपिला कँडेल
हामीले केही दिन अगाडी फेब्रुअरी १४अर्थात भ्यालेन्टाईन डे लाई बिदाई गरेका छौ । केही बर्ष अगाडी भ्यालेनटाईन अर्थात प्रणय दिवस भन्ने कतै सुनिएन । हुनत प्रेम भन्ने शब्द आफैमा नराम्रो होईन । तर सूचना र प्रबिधिको बिकास संगै बाह्य संस्कृतिको प्रभाव यतिधेरै पर्योकी हामी चाहेर पनि सजीलै संग रोक्ने अवस्थामा छैनौ । एका बिहानै कम्प्युटर खोल्योकी फेसबुक भरी प्रणय दिवसका नाममा पतीपत्नीका तस्वीर लगायतका बिभिन्न कार्टुनहरु छरपस्टै देखिए । युवायुवतीहरु एकआपासमा शुभकामना आदान प्रदान गर्दै आफ्नो मनपर्ने साथी संग डेटिङ जाने लगायतका कार्यक्रम गरेर भ्यालेन्टाईन डे मनाए । त्यती मात्र होईन एफएम रेडियोबाट समेत भ्यालेन्टायन बिशेस कार्यक्रमहरु संचालन गरेर तपाई को कसलाई प्रेम गर्नुभएको छ अर्थात कसलाई प्रेम प्रस्ताव राख्नचाहनु हुन्छ भनेर अत्यन्त उरन्ठेउला कार्यक्रम समेत संचालन गरेको सुनियो । यसले हाम्रो परिवार तथा समाजमा के कस्ता नकरात्मक प्रभाव पार्छ भन्ने तर्फ भने कसैको ध्यान गएको पाईदैन । यस्ता बिभिन्न म्यासेज तथा फोनिङ्ग लगायतका कार्यक्रम हाम्रो घरपरिवार तथा बुवाआमा लगायत घरपरिवार संग बसेर सुन्न समेत अप्ठेरो हुने उत्ताउला कार्यक्रम समेत प्रशारण भएको पाईयो ।
हुन त फेसबुकमा बुवाआमाले लभ गरेका तस्वीरहरु छोराछोरीले सिको गर्नु अन्यथा हुदैन होला तर प्रणय दिवस के हो ? कहांबाट शुरु भएको र यसको सकरात्मक वा नकरात्मक असर कस्तो परिरहेको छ ? भन्ने कुरा तर्फ भने कसैको ध्यान गएको देखिदैन ।
मेरो बुझाईमा भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस बाह्य संस्कृति हो, जहां यौन लगायतका अन्य गतिबिधी छाडा हुन्छन् । रोमन साम्राज्यको पालामा भ्यालेन्टाईन नामका एक सन्तले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामुहिक बिबाह समेत गराएको अभियोगमा शासकहरुले मृत्यु दण्ड दिएपछि हरेक बर्ष फेब्रुअरी ४ मा भ्यालेन्टाईन डे मनाउने संस्कृतिको बिकास भएको हो । अव सोचौ यो संस्कृति नेपालका लागि सुहाउदो छ की छैन ?
जव मुलुकमा लोकतन्त्रको उदय संगै सूचना र प्रविधिले फड्को मार्दै गयो तव बिभिन्न बाह्य संस्कृतिहरु मौलाउदै गए । हामी चर्को राष्ट्रबादका कुरा गर्छौ तर बाह्य संस्कृतिको प्रभावलाई रोक्न सक्दैनौ, जसको प्रभावले हाम्रो संस्कृति परम्परा र संस्कारमा परिरहेको छ । आज हाम्रा बालबालिकाले घरपरिवारमा अभिभावकलाई प्रेम गर्न जान्दैनन् । आनीबानी र आचरणमा सुधार हुन सकेन भने जतिसुकै शैक्षिक उपाधी हासिल गरेपनि मुलुकका लागि अनुत्पादक सिद्ध हुन थालेको छ । आजभोलीका युवायुवती वा किसोरकीसोरी प्रेम सम्बन्ध भनेको केटाकेटी अर्थात गर्ल फ्रेण्ड र ब्वाय फ्रेण्ड बिच हुने हो भन्ने गलत मानसिकताबाट गुज्रेको पाईन्छ । तपाई हाम्रा सामु अचेल किसोर किसोरी वा युवायुवतीले आत्महत्या गर्ने क्रम बढ्न थालेको छ । कारण कलिलै उमेरमा एकआपसमा प्रेममा फस्ने र जुन प्रेमले कलिलो मानसिकतालाई अन्धो बनाउछ । एकले अर्कोलाई अस्वीकार गर्ने वातावरण बन्दासाथ आत्महत्या गरेका समेत थुप्रै घटनाहरु सुनिन थालेका छन् भने अर्को तर्फ बिहे गर्ने बाध्यात्मक परिस्थीतिमा पुरुष प्रेमीले महिला प्रेमीको हत्या गरेका घटनाहरु समेत छन् । लाग्छ यी र यस्ता घटनाहूनुमा बाह्य संस्कृतिको बढ्दो प्रभाव र प्रविधिको दुपयोग नै हो ।
अत यदी हामीले प्रणय दिवसनै मनाउनु छ भने श्रीकृष्ण जन्माष्टमी र महाशिवरात्रि पर्वमा मनाउन सक्छौ । किनकी माया प्रेमका सच्चा पात्र भगवान श्री कृष्ण र शिवजीलाई दिन सकिन्छ हाम्रो संस्कृति र धार्मिक परम्पर अनुसार । बाह्य संस्कृति भित्राएर बिकृति निम्त्याउनु भन्दा हामी हाम्रै संस्कृति र परम्परामै रमाउ भन्ने लाग्छ । हामीले श्रीकृष्ण र शिवजीलाई मानौ या नमानौ हाम्रो संस्कृति र माटो सुहाउदो कृष्णजन्माष्टमी र महाशिवरात्रि पर्वनै हुन्, जसको प्रेममा सत्यता र अमरत्व छ ।
हुनत केही ब्यक्तिले १६ हजार ग्वालिनी बनाए राधिकालाई प्रेम गरे रुक्मीणीलाई बिहे गरे तथा शिवजीले भाङ्ग धतुरो खाए भने हामी त मान्छे न हौ भनेर हल्का गलत टिप्पणी गरेको पनि पाईन्छ । बिभिन्न ग्रन्थका अनुसार उनिहरुले त्यसो गर्नुमा थुप्रै बाध्यात्मक परिस्थीति र कैयौँ रहस्य लुकेका छन् । त्यसो त उनिहरुले सिङ्गो ब्रम्हाण्डनै निल्थे बिष पनि पचाउथे । के हामी त्यसो गर्न सक्छौ त ? अतं धार्मिक मान्यता अनुसार शिवको अर्थ सत्य हो भने श्रीकृष्ण लाई मुक्तिदाताको रुपमा चिनिन्छ । त्यसैले भगवान श्रीकृष्ण र शिवलाई आधार मानेर भ्यालेन्टाईन डे मनाउने संस्कृति बनाउन सक्ने हो भने यसले जीवन र जगतलाई सहि मार्गमा धकेल्छ । अर्को तर्फ उनिहरुको त्याग तपस्या महिमा महत्व र प्रेमलाई बुझ्ने ब्यक्ति गलत दिशामा लाग्ने सम्भावना कम हुन्छ । त्यसैले आउदै गरेको महाशिवरात्रि पर्वलाई प्रणय दिवसका रुपमा मनाउ जसले सदैब सुख शान्ति र प्रेम मिल्ने छ । अन्यथा बाह्य संस्कृतिलाई आधार बनाएर मनाईएको प्रणय दिवसले क्षेणिक र भ्रमपूर्ण एबं दु:खदायी हुनेछ ।
बागलुङ
२०७५ फागुन १८ ।
लेखिका, पत्रकार हुन।