सुमन सुनार, बुर्तिबाङ २०७५ चैत ६ । नेपालका अल्पसंख्यक आदिवासी थकाली समुदायको महान पर्व परम्परागत तोरन ल्ह तथा फागुपूर्णीमा आज विभिन्न कार्यक्रम गरी मनाएका छन् । देशका थकाली समुदायको बसोबास रहेको ठाउँमा तोरन ल्हको रौनक छाएको छ ।
यस पर्वमा थकाली समुदायले आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने, चोखो भई पितृको सम्झना गर्ने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ । तीन दिन सम्म मनाइने यस पर्वमा सबैरे उठेर चोखो भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउने परम्परा छ ।
यसैविच ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ सहित आसपासका क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले पनि आज तोरनल्ह तथा फागु पूर्णीमा भव्यताका साथ मनाएका छन् । यसैक्रममा बुर्तिबाङमा रहेको थकाली सेवा समितिले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तोरनल्ह पर्वको अवसरमा परम्परागत ताराखेल प्रतियोगिताको आयोजना गरेको छ । आयाजित प्रतियोगिता आजदेखी सुरु भएको छ । प्रतियोगिताको आज ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख नेपालीले धर्म, संस्कृति, रीतिरिवाजको संरक्षणमा जोड दिए । उनले थकाली समुदायको परम्परागत खेल तारा खेल पुख्र्यौली ईतिहास बोकेको खेल भएकाले यसको संरक्षण र संबद्र्धन गर्दै जानुपर्ने बताए । थकाली समुदाय र ताराखेल बुर्तिबाङ क्षेत्रको पहिचान भएको बताउँदै नगर प्रमुख नेपालीले सांस्कृतिक रूपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताए । बढ्दो आधुनिकतासंगै अन्य समुदायले आफ्नो भाषा, भेषभूषा र संस्कृति भुल्दै गइरहेको अवस्थामा बुर्तिबाङका थकाली समुदायले आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिएको भन्दै नेपालीले प्रशंसाको पुल बाँधे । नगर प्रमुख नेपालीले थकाली समुदायको कला, संस्कृति संरक्षणमा ढोरपाटन नगरपालिकाले सक्दो सहयोग गर्ने सो अवसरमा बताए ।
यस्तै उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओम प्रकाश यादव, थकाली सेवा समाजका केन्द्रीय सदस्य इन्द्रमान शेरचन लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
थकाली सेवा समाजका पुर्व केन्द्रिय सदस्य धरम शेरचनको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन थकाली सेवा समाज बुर्तिबाङका हेमेन्द्र शेरचनले गरेका थिए ।
आज देखि सुरु भएको उक्त ताराखेल प्रतियोगिता आगामी ८ गते सम्म जारी रहने थकाली सेवा समाज बुर्तिबाङले जनाएको छ ।
तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका बुर्तिबाङका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने थकाली समुदायका नागरिकहरुको उपस्थिति रहेको छ । विसं २०६८ को जनगणनाअनुसार १० हजारको संख्यामा नेपालमा बसोबास रहेको थकाली समुदाय अल्पसंख्यक आदिवासी जनजातिमा सूचीकृत छन्् ।