नगरपालिका भित्रका उल्लेखित नागरिकको भाडा नगरप्रमुख नेपालीले व्यहोर्ने उद्घोष !
योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ चैत ७ । ढोरपाटन नगरपालिका अन्तर्गतका ७० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, विधवा, एकल महिला र जटिलखालका विरामीहरुले निःशुल्क यातयात सुविधा पाउने भएका छन् ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले मंगलबार बुर्तिबाङमा पत्रकार सम्मेलन गर्दै नगर स्तरका जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र जटिलखालमा विरामीहरुका लागि जिल्ला सदरमुकाम बागलुङ र प्रदेश राजधानी पोखरा सम्म आफ्नो व्यक्तिगत खर्चमा निःशुल्क यातयात सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख नेपालीले नगर स्तरमा बसोबास गर्ने गरिव, दलित, विपन्न, पिछडिएका, असाहय, अपाङ्गता भएका नागरिकहरुको सेवाका लागि आफुले निःशुल्क यातयात सेवा सञ्चालन गरेको र उक्त सेवा निरन्तर रुपमा सञ्चालन गरिरहने प्रतिबद्धता समेत जनाए । स्थानिय तहको निर्वाचनको समयमा जनतासंग गरेको प्रतिवद्धता पुरा गर्न पनि उक्त कार्य गरेको नगर प्रमुख नेपालीको भनाई थियो ।
बुर्तिबाङमा रहेका जुनसुकै यातयात समितिबाट लक्षित नागरिकले सेवा लिन सक्ने भन्दै सेवा लिनका लागि आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि लिएर यातयात समितिमा सम्पर्क राख्न आग्रह गरे । सुरुमा आफ्नो परिचय खुल्ने कागजातको माध्यायमबाट सेवा दिने र आगामी दिनमा परिचय पत्रको व्यवस्था समेत गरिदिने नगरप्रमुख नेपालीले बताए ।
लक्षित नागरिकहरु छनौट र उनिहरुको सेवाका लागि बुर्तिबाङका यातयात समितिलाई नगर प्रमुख नेपालीले जिम्मेबारी दिएको र सेवा लिए बापतको रकम आफुले मासिक रुपमा भुक्तानी गर्ने समेत खुलासा गरे ।
नगर प्रमुख नेपालीव्दारा सञ्चालित निःशुल्क वस सेवालाई व्यवस्थित र मर्यादित बनाउनका लागि उक्त पत्रकार सम्मेलनमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको छ ।
स्मरणीयछ, नगरप्रमुख नेपालीले निर्वाचनको प्रचारक्रममा नगरप्रमुखमा विजय भएको बागलुङ सदरमुकाम हुँदै प्रदेश सदरमुकाम पोखरा सम्म निजी खर्चमा निशुल्क बस सेवा सन्चालन गर्ने घोषणा गरेका थिए ।
राज्यबाट प्राप्त हुने सेवा सुविधा समेत नलिएर जनताको सेवामा लागिरहेका नगर प्रमुख नेपालीले बागलुङ पश्चिमका स्थानिय तहहरुमा आफ्नै व्यक्तिगत लगानीमा विद्यालयहरुमा शिक्षकको व्यवस्था, अक्षय कोष स्थापना, बाढी, पहिरो, आग्नि पीडित, गरिव, दलित, विपन्न परिवार, विभिन्न कारण विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग, सामाजिक क्लव संघसंस्थाहरुको भवन निर्माण लगायतका सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउदैँ आउनुभएको छ । ढोरपाटन नगरपालिका सहित बडीगाड, निसीखोला र तमानखोला गाउँपालिकाका विद्यालयहरुमा व्यक्तिगत रुपमा आफुले तलव, भत्ता दिने गरी करिव ५५ जना भन्दा बढी शिक्षकको व्यवस्था, अक्षय कोषको स्थापना, कम्प्युटर सहयोग, क्लव तथा आमा समुह लगायतका सामाजिक संघ संस्थाहरुको भवन निर्माणमा आर्थिक सहयोग गर्दै आएका छन् ।
अहिले सम्म नगर स्तरका खरको छानो भएका, बाढी तथा पहिरोका कारण घरवास गुमाएका गरिव, दलित तथा विपन्न ४ सय ६० घरपरिवारलाई आफ्नै व्यक्तिगत लगानीमा घर छाउनका निम्ती जस्तापाता उपलब्ध गराएका छन् ।