Sorry, that menu does not exist.
 

बागलुङ जिल्लाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न !
जनतालाई गुड गभर्नेसको प्रत्याभूति दिन कर्मचारीहरुलाई खटेर काम गर्न मुख्यमन्त्री गुरुङको निर्देशन !

बागलुङ २०७५ चैत १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशलाई आगामी केहि वर्ष भित्रै देशको नमुना (स्मार्ट) प्रदेश बनाउने संकल्प दोहोराएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा मंगलबार जिल्ला समन्वय समितिको सभाकक्षमा भएको बागलुङ जिल्लाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कर्मचारी समायोजनलाई न्यायपूर्ण तवरले सम्मान गर्ने, विकासका लागी पूँजिगत खर्च बृद्धिगर्ने, प्रदेश मातहतका कार्यालयहरुलाई श्रोत साधन सम्पन्न गराउदै जनतालाई गुड गभर्नेसको प्रत्याभूति दिने बताए ।

उनले पूँजिगत खर्चलाई २५ प्रतिशतबाट बढाएर शतप्रतिशत बनाउन कर्मचारीहरुले थप मिहिनेत र उत्साहका साथ लाग्नु पर्ने निर्देशन समेत दिए ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्य मन्त्री गुरुङलले स्थानीय, प्रदेश र संघीय तीनै तहका कार्यालयहरु तथा जिल्लामा क्रियाशील राजनीतिक दलहरुबीच प्रभावकारी समन्वयात्मक भूमिका निर्वाह गरी पारदर्शिता पूर्वक जनतालाई छिटो छरितो सेवा प्रवाह गरेकोमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको प्रशंसा गर्दै यस प्रकारको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश मातहत रहेका कार्यालयहरुको संक्षिाप्त कार्यप्रगति समेत प्रस्तुत गरिएको थियो । जनस्वास्थ्यका प्रमुख प्रशासक दिपक तिवारीले स्वागत मन्तव्य सहित धौलागिरी अन्चल अस्पताल, आयुर्वेद कार्यालय र जनस्वास्थ्य कार्यालयहरुको कार्यप्रगति प्रस्तुत गरेका थिए भने भेटेरनरी डाक्टर नारायण शर्माले भेटेरनरी, कृषि, वन, घरेलु र यातायात गरी पाँच कार्यालयहरुको कार्यप्रगति प्रस्तुत गरेका थिए ।

यसैगरी शहरी विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सीडीई सचिन्द्र कुमार देवले शहरी विकास, खानेपानी र सिँचाई कार्यालयहरुको कार्य प्रगति प्रस्तुत गरेका थिए । यसै सिलसिलामा कोष लेखा प्रमुख केशव ढकालले कोषको अवस्था बारे जानकारी गराएका थिए ।

सूचना अधिकारीहरुका तर्फबाट जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल आएपछी सूचना अधिकारीहरु र पत्रकारहरुवीच मासिकरुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने परिपाटी स्थापित गरिएको चर्चा गर्दै यसबाट विभिन्न कार्यालयहरुबाट सम्पादित कार्य प्रगति सम्वन्धमा सूचना आदान प्रदान गरिने हुँदा पारदर्शितालाई सहयोग पुगेको बताए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी खरेलले ‘मुख्य मन्त्रीज्यूले हामीलाई दिईएको निर्देशन प्रति आभार व्यक्त गर्दै सरकारका नीति, योजना र कार्यक्रमहरुलाई जनता समक्ष पुराउन सेतुको रुपमा रहेका हामी कर्मचारीहरु पारदर्शी, उत्तरदायी एवं सदाचारी बन्दै जनतालाई सम्मान सहितको सेवा दिने’ प्रतिवद्धता व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री खगराज अधिकारी, पूर्व मन्त्री हितराज पाण्डे, गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना मूख्यमन्त्री गुरुङका सल्लाहकार गोविन्द नेपाली समेतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र राज पन्तले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply