झम सिर्पाली निसिखोला २०७५ चैत्र १३ । बढ्दो आधुनिकीकरणसंगै आजभोली गाउँघर तिरका पुराना प्रविधिहरु लोप हुँदै गईरहेका छन । विज्ञान र प्रविधिको विकास र नयाँ नयाँ आविस्कारहरुको वाक्लो उपस्थितिले आम जनस्तरमा सुविधा ल्याएको कुरामा दुईमत छैन । र यो आफैमा स्वागतयोग्य र अपरिहार्य छ ।
त्यसो त नयाँ प्रविधिको विकाससंगै हाम्रा मौलिक र स्थानिय प्रविधिहरु धरासायी बनेको कुरालाई भने पटक्कै नजरअन्दाज भने गर्न सकिँदैन । विद्युतिय मेसिनहरु भित्रीए लगत्तै गाउँघरमा जाँतो, ढिंकी, कोल, ओखल जस्ता स्थानीय प्रविधिहरु देखिन छोडेका छन ।
यसै प्रसंगमा जाँतो ( ढुङ्गा कुँदेर बनाईएको मकैलाई च्याँख्ला पार्ने स्थानिय साधन) बनाउने निसीखोला २ काल्नेचौरका एकजना स्थानिय ६० बर्षिय वृद्धसंग कुरा गर्ने अवसर जुट्यो । जस्को नाम हो रणबिर विश्वकर्मा ।
१५ बर्षको उमेर देखि (२०३० साल तिर )आफ्नो पुर्खाले गरेको देखेर जाँतो बनाउन सिकेर आफ्नो जिविकोपार्जन गर्दै आएका विश्वकर्मा अहिले माग कम भएको प्रती चिन्ता व्यक्त गछन् । उनका अनुसार तत्कालीन समयमा एकजोडी जाँतोको साठी देखि सत्तरी रुपियासम्म पर्ने गर्दथ्यो । एक विषेश प्रकारको ढुङ्गाबाट बन्ने यो साधनको माग त्योबेला असाध्यै बढी हुनेभएकाले यस्को उत्पादन र विक्रीबाट १० जनाको परिवारको सामन्य खर्च चलाउन सकिएको बताउछन विश्वकर्मा ।
उनका अनुसार अहिले यस्को मूल्य ७ देखि ८ हजार पर्ने भएपनी माग कम हुने गरेको छ । मिलमा पिनेको भन्दा यस्मा पिनेको च्याँख्लाको भात स्वादिलो हुनेभएकाले अझै पनि यस्को माग केही मात्रामा भएको पाईन्छ भने मिलको सुविधा नपुगेको दुर्गम क्षेत्रमा भने कुटानिपिसानी भरपर्दो साधन नै यहि हो ।
आधुनिक प्रविधिको युगमा मानिसहरु छिटोछरितो र सहजताका लागि सुविधामुखी हुनु अस्वभाविक होइन तर कुनै न कुनै माध्यमबाट यस्ता खाले स्थानिय र पुरातात्त्विक महत्वका प्रविधिहरुलाई पनि जोगाईराख्नु हाम्रो दायित्व भने हुनेछ ।