गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत १६ । गल्कोटमा बग्ने खोलाहरुबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने कार्य दिन प्रतिदिन बढ्दै गएको छ ।
प्राकृतिक संरचना नै बिग्रिने गरी गल्कोटको दरम र गौदी खोलाबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनले नियन्त्रण गर्न सकेको छैन । दैनिकजसो खोला गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि स्थानिय सरकार र प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ । गल्कोटमा दिन प्रतिदिन नयाँ भौतिक संरचना (घर)हरु बन्न थालेकाले बालुवा, गिटी र ढुङगाको माग बढी रहेको छ ।
स्थानियले खोलामा जथाभावी उत्खनन गरेर संकलन गरेको बालुवा यहाँका ब्यापारिहरुले थोरैमा खरिद गरि धेरैमा बिक्रि बितरण गर्ने गरेका स्थानियको गुनासो छ । वर्षायाममा केहि मात्रामा उत्खनन राकिएपनि खोलामा पानीको बहाव रोकिए लगत्तै पुनः शुरू हुने गरेको छ ।
गल्कोट नगरपालिकाले अवैध रुपमा खोलाको गिटी बालुवा निकासीमा रोक लगाउने नीति समेत बनाएको छ । टेण्डर प्रक्रियाबाट बालुवा निकाल्ने नीति ल्याए पनि स्थानियले भने मनपरी तरिकारले गिटी, बालुवाहरु निकालिरहेका छन । बिहान उठेदेखि रातिसम्म स्थानियले खोलामै समय बिताउने गरेका छन । बालुवा निकालेर स्थानियले जीविर्कोपार्जन गरे त्यसबाट नगरपालिकामा कुनै किसिमको कर जम्मा नहुने हुदाँ करोडौ बराबरको कर खेर गईरहेको छ ।