बागलुङ, २०७३ चैत ११ । ग्रामिण क्षेत्रका महिलाहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्ने उदेश्यले काँठेखोला गाउँपालिका वडा नं. ७ साविकको रेश गाविसमा आमा समुहहरुका बीच सहकारी सम्बन्धी भजन प्रतियोगिता आयोजना गरिएको छ ।
६० औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले साविक रेश गाविसमा वडा स्तरीय आमा समुहको टोलीहरुबीच भजन प्रतियोगिता आयोजना गरेको हो ।
संस्थाको सञ्चालक समितिको शुक्रवार बसेको वैठकले राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर चैत १९ गते शनिवारका दिन रेश नुन्थलामा सहकारी सम्बन्धी भजन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
हराउदै गएको लोक संस्कृतिको संरक्षणका साथै महिलाहरुलाई सहकारी सम्बन्धी अध्ययन गर्ने, छलफल गर्ने र सहकारीको महत्वका बारेमा चासो जगाउनका लागि भजन प्रतियोगिता सहयोगी हुने संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।
भजन प्रतियोगितासंगै महिलाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना, सूर्तिजन्य पदार्थको सेवन र यसबाट हुने असरका बारेमा जानकारी तथा स्त्री तथा प्रसुती रोग सम्बन्धी सचेतना समेत प्रदान गरिने संस्थाका उपाध्यक्ष अञ्जु जिसीले बताईन ।
नेपालमा सहकारीको शुरुवात भएको दिन चैत २० गतेका दिन नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आइएको छ । यस वर्ष दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ देशव्यापी रुपमा मनाइदैछ ।