निर्मल पौडेल, बागलुङ (कुस्मीसेरा) २०७५ चैत २१ । बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीमा बाँदरले आतंक मच्याएको छ । कृषकहरुले लगाएको केराउ गहुँ र उम्रिन लागेको मकैे गुना कल्मुखे र राता बाँदरको हुलले सखाप पारेको हो । यसभन्दा अगाडि पनि बाँदरले पटकपटक खेतीवालीमा सताउने गरेको र नियन्त्रणका लागि कृषकहरुले वडा कार्यलयमा खवर गर्दा समेत केही वास्ता र सुनुवाई नगरेको स्थानिय पीडित कृषक महेश शर्माले जानकारी दिए । खेत वारीमा लगाएको वालीमा मात्र हैन घरघरमा समेत छिरेर सताउने गरेको शर्माको दुखेसो छ । किसानहरु कृषि गरेर मजदुरी गरेर साँझ विहानलाई जोहो गर्नुपर्छ तर बाँदरले घरघरमा छिरेर हैरानी कटाएकोले एक जनाले घर कुरेर वस्नुपर्ने वाध्यता रहेको शर्माले वताए ।
छिस्तीको फुर्केसल्ला, चिलाउनेखर्क, ढाव, रिठावट, कउँदी, भडिकुवा,नेपाने लगायतका ठाउँमा पनि बाँदरले आतंक मच्चाएको हो । यहाँका वासिन्दाहरुको मुख्य पेशा कृषि रहेको छ । कृषि गरेर वर्षदिन खान नपुग्ने किसानहरुको खेतीवाली नै बाँदरले सखाप पारिदिए पछि चिन्तित त छन नै नियन्त्रणको लागि वडामा पटकपटक खवर गर्दा समेत वास्ता नगरेकोले अन्यत्र कहाँ गुहार माग्ने ? किसानहरु दोधारमा छन् । उता पर्वतको महाशिला गाउँपालिकामा भने बाँदरले आतंक मच्याउँदा गाउँपालिकाले नियन्त्रणका लागि वजेट विनियोजन गरेर नियन्त्रण गरिरहेको छ ।