Sorry, that menu does not exist.
 

जुत्ता सिलाउने पेशाले फेरियो राम बहादुरको जीवन : मासिक ४० हजार आम्दानी !

सुमन सुनार, बुर्तिबाङ २०७५ चैत २५ । आफुमा भएको सिपलाई कुशलताका साथ आफ्नै देशमा प्रयोग गर्ने हो भने स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिन्छ । यसको गतिलो उदाहरण बन्नुभएको छ, निसीखोला गाउँपालिका वडा नं. ६ बुढाथोकका राम बहादुर परियार ।

परियारले विगत ४ वर्ष देखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा व्यवसायिक रुपमा जुत्ता सिलाउने पेशा गर्दै आएका छन् । ३७ वर्षिय परियारले जुत्ता, चप्पल सिलाउनुका साथै नयाँ जुत्ता, चप्पल उत्पादन गरी विक्रि वितरण गरेर मासिक रु. ४५ हजार देखि ५० हजार सम्म आम्दानी गर्छन् । उनको कमाईले परिवार मात्रै पालेको छैन, ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको सोरबोटमा दुई तले पक्की घर समेत निर्माण गरेका छन् ।

कुनै बेला बैदेशिक रोजगारीका लागी भिसा लगाउन काठमाडौ पुगेका परियारले अहिले आफ्नै देशमा गरेको जुत्ता सिलाउने पेशा आकर्षक आम्दानीको स्रोत बनेको छ । आफुलाई पत्थरी भएपछि बैदेशिक रोजगारीमा जान र अन्य भारी काम गर्न समेत नसक्ने अवस्था भएपछि आफुले जुत्ता सिलाउने पेशा अंगालेको परियारले बताए । बाध्यताले रोजेको पेशा अहिले आफ्नो जीवन धान्ने माध्यम बनेको परियारको भनाई छ ।

२०५५ साल तिर आफ्नो परिवार नै लिएर भारत गएका परियार, भारतमा करिव १५ वर्ष भन्दा बढि बसेको र त्यहाँ काम गरेर कमाएको पैसाले परिवार पाल्न समेत धौधौ भएपछि पुनः स्वदेश फर्किएको परियारको भनाई छ । विदेश जान नसक्ने र अन्य श्रम गर्न पनि नसक्ने अवस्था आएपछि जुत्ता सिलाउने पेशा गर्ने योजना बनाएको परियार बताउछन । आफ्नो पुर्ख्यौली पेशा नभएको र गाउँघरमा पनि कसैले नगरेका कारण सुरुसुरुमा आफुलाई जुत्ता सिलाई गर्न अप्ठ्यारो महशुस भएपनि अहिले भने पेशाबाट आफु निकै सन्तुष्ट भएको बताउ छन् । जुत्ता सिलाइकै आम्दानीबाट १ छोरा र दुई छोरीलाई बोर्डिङ स्कुल पढाइरहेको परियारले बताए ।

बुर्तिबाङ बजारको बसपार्क नजिकै एउटा सटर भाडामा लिएर जुत्ता सिलाउने र उत्पादन गर्दै आएका परियारले कुनै तालिम विना नै अरुले गरेको देखेकै आधारमा जुत्ता सिलाउन थालेको बताउछन् । सुरुमा धेरै पटक पुरानो जुत्ता खोलेर त्यसलाई पुनः निर्माण गर्ने प्रयास गरेको र पछि राम्रो बन्न थालेपछि आफै नयाँ जुत्ता निर्माण गर्न सुरु गरेको उनले बताए । अहिले उनले रु. ८ सय देखि २ हजार ५ सय सम्मका आर्कषक जुत्ता, चप्पल उत्पादन गर्दै आएका छन भने सिलाइ गरेको ८० रुपैयाँ देखि ३ सय सम्म लिन्छन् । ग्राहकहरुले पनि परियारले उत्पादन गरेको जुत्ता चप्पल निकै मन पराउछन् ।

नेपालमा रोजगार नपाएको भन्दै दिनहुँजसो नेपालीहरु विदेशीरहेका बेला उनले भने स्वदेशमै आफ्नो शिप अनुसारको व्यवसाय गर्न सक्ने हो भने नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । नेपालमा कपाल काट्ने, घर निर्माण देखि लिएर ठुलठुला आयोजनाका काममा देश भन्दा बाहिरका नागरिकले काम गर्दै आएको भन्दै परियारले लाखौँ पैसा अर्काको देशमा भित्रिरहेको गुनासो गरे । ज्यान हतेलीमा राखेर अर्काको देशमा परिश्रम गर्नुभन्दा कुनै न कुनै शिप सिकेर आफ्नै माटोमा पोरख गर्न सवैलाई आग्रह गरे ।
२ छोरा र ३ छोरी सहित ७ जनाको परिवार भएपनि १ छोरा र १ छोरीको विवाह भैसकेको र हाल परियारको ५ जनाको परिवार रहेको छ । घर परिवार सँगै बसेर काम गर्न पाउने भएकाले पनि स्वदेशमै काम गर्न सजिलो हुने उनको विचार छ । परियारका श्रीमती विमला परियारले पनि श्रीमानको पेशामा भरपुर साथ दिएकी छन् । परिश्रम वा पेशा ठुलो र सानो नहुने भन्दै श्रीमानको पेशाबाट आफु निकै सन्तुष्ट भएको विमला परियारले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply