बागलुङ २०७५ चैत २७ । स्थानीय सरकारले गरेका योजना कार्यान्वयनको अवस्थाका विषयमा धरान उपमहानगरपालिकाको टोली बागलुङ नगरपालिकाको अध्ययन गरेको छ । धरान उपमहानगरपालिकाका वडा अध्यक्ष मनीराम राई नेतृत्वको जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलसँग अन्तरक्रिया गरी स्थानीय सरकारले गरेको भौतिक पूर्वाधारको विकास, उत्पादन बृद्धि, राजश्व संकलन, सुशासन तथा सामाजिक सुरक्षाका विषयमा अध्ययन गरेको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङ नगरपालिकाले सबै वडाका केन्द्रसम्म जोड्ने सडकको स्तरउन्नती गरी पक्की बनाउँने, बजारको ट्राफिक व्यवस्थापनका लागि चोक सुधार, आधुनिक बसपार्क, विश्वमै लामो मानिएको बाङ्गेचौर–पाङ पुल निर्माण, बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि लिफ्टििङ प्रविधिको खानेपानी आयोजना, ढल निकासका लागि आधुनिक ढल निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी गराएका थिए ।
स्थानीय सरकारले जनतालाई मर्का नपर्नेगरी आन्तरिक आय बृद्धिमा नगरपालिकाले ध्यान दिएको भन्दै नगरप्रमुख पौडेलले स्थानीय सरकार गठनको पहिलो वर्ष भन्दा दोस्रो वर्ष तेब्बर बढी आन्तरिक आय गर्न सफल भएको जानकारी दिए । पौडेलले नगरमा हुने हरेक गतिविधिहरु जनताले थाहा पाउन भन्ने उद्देश्यले वडागत रुपमा सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु गरिरहेको पनि बताए ।
भ्रमण टोलीका संयोजक मनीराम राईले बागलुङ नगरपालिकाले गरेका कामहरु उदाहरणीय भएको भन्दै आफूहरुले आफ्नो नगरमा योजना बनाउँदा अन्य स्थानीय तहका अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले बागलुङका प्रशिद्ध पर्यटकीय स्थलको फोटो सहितको मायाको चिनो दिदै बागलुङ भ्रमणका लागि आउन आग्रह गरेका थिए भने धरानका मनीराम राइले धरानको चिनो प्रदान गर्दै धरानका पर्यटकीय स्थल अवलोकनका लागि आग्रह गरेका थिए ।