बुर्तिवाङ २०७६ बैशाख ५ । गाउँघरमा अज्ञात शक्ति (व्यक्ति)व्दारा घरको छानामा ढुंगा बर्साएर डराउन दिने, भान्सा कोठामा माटाका डल्लाहरु खसाल्ने, घरका पाली ढुंगाहरु खस्ने, एक ठाउँमा राखेका लत्ताकपडा अन्यत्र देखिने गरेका कुराहरु अझैपनि सुन्न र देख्न सकिन्छ । स्थानीयहरु यस उत्पातबाट जोगिन, डरत्रास वा कुनै अनहोनिबाट पार पाउन, झारफुक गर्ने खरानी डाक्टरहरु कहाँ समेत गएका घटनाहरु समाजमा नदेखिएका होईनन् । प्रहरी प्रशासन समक्ष पनि गुहार माग्न गएका छन् । तर यस्ता घटनाहरुले निक्र्यौल पाएको अवस्था भने छैन ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा ६ महिना पहिले २०७५ कात्तिक २४ गते राति घटेको दुहुनो भैँसी चोरीको एक घटनाले यस्तै रुप लिन खोजेको अनुभूति नगरवासीलाई भएको छ ।
श्रोतका अनुसार यस घटनाको नालीबेली यस्तो छ, ढोरपाटन नगरपालिका बुर्तिवाङ बजारको लक्ष्मी कुण्डमा हार्डवयर व्यापार गर्दै आएका टीकालाल सुवेदीले बुर्तिवाङ बजारकै पेट्रोल पम्पको केहि तल सेरा तर्ने पुल नजिक रहेको आफन्त दुग्धडेरी सन्चालक कृष्ण खनालको जग्गामा गोठ बनाएर बाँध्ने गरेका थिए । गत कात्तिक महिनाको २४ गते राति भैँसी चोरी गर्ने गिरोहले दुहुनो भैँसी फुकाएर खोला किनार तिर लगिरहेको अवस्थामा भैँसी चम्किएर मानवबस्तीतिर पसेका कारण बाँच्यो ।
यस घटनाको एक हप्ता नवित्दै २०७५ साल मंसिर ३ गते विहानीपख ३ बजेको समयमा भैँसी चोरी गर्ने गिरोहले सोही दुहुनो भैँसी फुकाएर लैजाँदा गर्दा भैँसीको सिङ समेत भाँचिएको (काटिएको) अवस्थामा फुत्किएर गएपछी गिरोहले गोठ नजिकै खनालको घरमा डेरागरी बस्ने जीतबहादुर पुनको परिवारलाई बाहिरबाट ढोकामा ताला लगाई त्यहाँ रहेको तरकारी खेती उखेली खोलामा फालेर रिस समन गरेका थिए ।
गोठ नजिकै करिब ५ लिटर घरेलु मदिरा, मासु काट्न बिच्छ्याउने खालको प्लास्टिक, एउटा जुत्ता समेत छोडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।
गत २०७५ पुस ६ गतेको बिहानी पख साढे ३ बजेको समयमा अज्ञात समुहले सोहि स्थानमा दुग्ध डेरी सन्चालक खनालको घरमा आगलागी गरिदिँदा घरभित्र रहेका जिन्सी सरसामान गरी रु २३ लाख बराबरको क्षती भएको प्रहरीले मुचुल्का उठाएको थियो भने छिमेकीहरुले घरको साँचो खोलेर गाईबस्तु बाहिर निकाली दिएका थिए ।
गत २०७५ साल माघ महिनाको ६ गते मध्यराति १२ बजे सोही सेरा पुल नजिक फुलबारी टोलमा रहेको उनै सुवेदीको बाख्रा खोरमा अज्ञात व्यक्तिले आगो लगाई दिएर त्यस्मा रहेका ३ वटा बाख्राहरु मारे । कर्कट पाताको बाख्राखोरमा लगाएको आगोको प्रकृति हेर्दा कुनै ज्वलनशील पदार्थ हालेर आगलागी गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो । यी सबै घटनाहरुमा एउटै समुह सक्रिय रहेको विश्वास गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका तत्कालीन प्रहरी उपरीक्षक दीपक रेग्मीले घटनाको छानबिन गरी दोषिलाई कार्बाही गर्न निर्देशन दिई सकेको बताएका थिए भने ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख ओमप्रकाश यादवले अपराधी पत्ता लगाउने कार्यमा प्रहरी सक्रिय रहेको जानकारी दिँदै पीडितहरुले अपराधीहरु पत्ता लगाउन सहयोग गर्नुपर्ने बताएका थिए ।
पछिल्लो समय दुई/दुई पटक कालको मुखबाट बाँचेको भैँसीका धनी हार्डवयर व्यापारी सुवेदीले सिङ नभएको भैँसी बेचिसकेका छन् भने झण्डै २५ लाख क्षती व्यहोरेर पनि दुग्धडेरी सन्चालक खनाल चूपचाप छन् । पीडित पक्षले खुलेर दोषि किटान गर्न डराउने र प्रहरीले शंकाकै भरमा कसैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न हिच्किचाउने दुबै पक्षको आ-आफ्नै कमजोरीले यो घटना तिलस्मीरुपमा परिणत भएको बुर्तिवाङबासीको बुझाई छ ।
जिल्लामै सर्वाधिक अग्लो गगनचुम्बी भवनका आँखाले पनि आफ्ना नगरवासीको पीडा नदेख्ने, नजिकै रहेको प्रहरी र ईलाका प्रशासनले चासो नराख्ने, पीडितहरु मुख खोल्न डराउने के चाला भयो बुर्तिवाङमा ? अपराधीहरुले उन्मुक्ति पाउदै जाने, बसपार्कको सार्वजनिक जग्गा हडप्नेहरु जुँगामा ताउ लगाएर ढल्किएर हिँड्ने । क्विन्टलका क्विन्टल घरेलु मदिरा बनाउने मर्चा नियन्त्रणमा लिएर खोलानालामा नष्ट गर्ने तर कहाँ, कसरी, कसले बनाउछ ? भन्ने अनुसन्धान नहुने परिपाटीले बुर्तिवाङ बजारको व्यवसाय मौलाउदै गएको तथ्यलाई नकार्न सकिन्न ।