कोपिला कंडेल, गल्कोट २०७६ बैशाख ७ । गल्कोट नगरपालिका ९ रिष्मीमा स्थानियको सक्रियतामा ३ किलोमिटर सडक निर्माण हुने भएको छ । स्थानिय मनिराम साप्कोटा दधिराम साप्कोटा र खिमलाल साप्कोटाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएपछि रिष्मी स्थित बाटुले आँपारुख पल्लाखर्क दरबार सम्म आवत जावत गर्ने सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि जापानमा रहेका रिष्मेलीहरुले आर्थिक सहयोग गर्ने बाटो निर्माण समितीका अध्यक्ष प्रेम सागर साप्कोटाले ईबागलुङलाई बताए ।
सो सडकको शनिबार बागलुङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले पुजाआजा सहित आजै शिलान्यास गरेका हुन । शिलान्यास पछि बोल्दै प्रजिअ खरेलले आफ्नो गाउंठाउंको बिकासका लागि स्थानियको सक्रिय सहभागिता हुनु प्रशंसनीय भएको बताए । सरकारको मात्र मुख ताकेर बिकास र सम्मृद्धिले पुर्णता नपाउने चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले स्थानिय बिकासको लागि रिष्मेली युवाको भुमिका महत्वपुर्ण रहेको बताए ।
सो अवसरमा बाटो निर्माणका लागि जग्गादाता मनिराम साप्कोटा दधिराम साप्कोटा र खिमलाल साप्कोटालाई प्रमुख जिल्ला अधिकारी खरेलले अबिर र खादा लगाएर सम्मान समेत गरेका थिए । मध्यपहाडी लोकमार्ग बाट ३ किलो मिटर माथि जाने सो बाटो निर्माणका लागि १५ लाख रुपयांको लागत अनुमान गरिएको स्थानियले बताएका छन् ।