बागलुङ, २०७६ बैशाख १९ । आदर्श सञ्चार संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रविधिकोे प्रयोगमा दक्ष बनाउने लक्ष्यका साथ आदर्श सञ्चार संस्था लिमिटेड बागलुङले बुधवार एक दिने प्रविधि सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।
सूचना र सञ्चारसंगै वित्तीय क्षेत्रमा काम गर्दै आएको संस्थाले संस्थाका सबै कर्मचारीलाई सूचना र सञ्चारसंगै अन्य नया प्रविधिका क्षेत्रमा समेत सक्रिय बनाउने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
प्रविधिको ज्ञान पाएमा मात्रै जनशक्ति प्रतिस्पर्धी बन्ने र व्यवसायिक रुपमा अगाडि बढ्ने भएकाले प्रविधिमैत्री जनशक्तिमा जोड दिइएको संस्थाका अध्यक्ष अञ्जु जिसीले जानकारी दिईन ।
कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सूचना, सञ्चार र प्रविधिको महत्वका बारेमा सहजीकरण गर्दै सूचना र जानकारीको भण्डारका रुपमा रहेको सहकारी क्षेत्रमार्फत आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि प्रविधिको अधिकतम उपयोगमा जोड दिएका थिए ।
विद्युतिय माध्यमको प्रयोग गरी संस्थाका शेयर सदस्य र अन्य व्यक्तिहरुलाई दिन सकिने सेवाहरु लगायत विद्युतीय कारोबार सञ्चालन प्रक्रियाका बारेमा ई–सेवा गण्डकी प्रदेश शाखा पोखराका प्रमुख बिनोद बोहोरा क्षेत्री र धौलागिरि प्रमुख सन्देश सापकोटाले सहजीकरण गरेका थिए । सहकारीमा धेरै सदस्यहरु हुने भएकाले विद्युतीय माध्यमबाट उनीहरुलाई आवश्यक सेवा दिन सकेमा सदस्यहरुलाई सहज सेवा हुने र संस्थालाई हुने आम्दानीबाट सदस्यहरुलाई लाभांश समेत जाने भएकाले सहकारीमा विद्युतीय सेवा बढी प्रभावकारी हुने उनीहरुको भनाई थियो ।
संस्थाका कर्मचारी र सञ्चालक गरी २५ जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष अञ्जु जिसी, सचिव ललिता थापा, सहसचिव सरस्वती खड्का परियार, लेखा समिति सदस्य पुष्पाकुमारी क्षेत्री, पर्यटन प्रवद्र्धन उपसमितिका सदस्य सूर्य चापागाई लगायतले प्रविधिको प्रयोगले सेवा प्रभावकारी हुनका साथै पारदर्शी समेत हुने बताए ।
धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन संगै वित्तीय तथा सेवा क्षेत्रमा काम गर्दै आइरहेको आदर्श सञ्चार सहकारीमा हाल १ हजार ३ सय ५० जना शेयर सदस्य, ३ करोड भन्दा बढी शेयर रकम, १३ करोड बचत, १४ करोड कर्जा लगानी र १७ करोड कुल कारोबार रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।