घनश्याम गौतम, गल्कोट २०७६ बैशाख २० । गल्कोट नगरपालिका १० पाण्डवखानीमा परम्परागत गरिदै आएको भीरमह शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु गरिएपछी अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने सरोकारवालाहरुले विश्वास लिएका छन् ।
बागलुङ जिल्लाको प्राय सबैजसो भागहरुका भीर पहराहरुमा मह शिकार गरिदै आएको छ । पछिल्लो समय गल्कोट, ताराखोला, बडीगाड गाउपालिका लगायतका क्षेत्रमा मह शिकार बढी गरिदै आएको छ ।
गलकोट नगरपालिका–१० रमुवामा बिहीबार प्रत्यक्ष मह शिकार कार्यक्रम गरिएको छ । वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन् । बुधबार र बिहिबार गरेर रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय भीरमौरीको गोलाबाट करीब सय लिटर मह काढिएको गल्कोट नगरपालिका बडा नम्बर १० का वडाध्यक्ष तिलक घर्तीले बताए ।
“पर्यटन प्रवद्र्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, वडाध्यक्ष घर्तीले ईबागलुङसंग भने “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।”
रमुवाका भीरहरुमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्दा दर्शकको आर्कषण बढेको तमानखोला गाउपालिका अध्यक्ष जोकलाल बुढाले जनाकारी दिए । बाँसको चोयाँ र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिएको शिकारी धनबहादुर घर्तीले बताए । “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, शिकारी घर्तीले भने “ज्यानकै बाजी लगाएर भीरमा उक्लिएर मह काढियो ।
मह शिकारलाई व्यावसायिक बनाउन यस बर्ष क्लबले रमुबा पुगेका दर्शकको लागी निशुल्क चाख्न दिएको र प्रतिलिटर २ हजार रुपैयमा बिक्रि गरेको कल्बका अध्यक्ष गिरीप्रसाद घर्तीले बताए । बुधवार र बिहीबार रमुबामा गरिएको मह शिकार हेर्न जिल्लाका बिभिन्न पालिकाका प्रमुख उपप्रमुख तथा सर्वसाधारणको भीड लागेको थियो ।
परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारीले पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग गरि मह सिकार गरेको गलकोट नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारी हेमन्तले ईबागलुङलाई बताए ।