विषयका शिक्षकहरुका लागि ढोरपाटन नगरपालिकाद्धारा आयोजित तिन दिने तालिम सम्पन्न !
सुमन सुनार, बुर्तिबाङ २०७६ बैशाख २१ । ढोरपाटन नगरपालिकाले नगर स्तरका सामुदायिक विद्यालयका अंग्रेजी विषयका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि गत विहिबार देखि सुरु भएको तालिम आज सम्पन्न भएको छ ।सामुदायिक विद्यालयहरूमा अंग्रेजी भाषामा शिक्षण र अंग्रेजी भाषाको प्रयोगको अवस्थालाई सुधार ल्याउने मुख्य उद्धेश्य सहित नगरपालिकाले तिन दिने तालिमको आयोजना गरी आधारभूत तहका अंग्रेजी विषयका शिक्षकहरुलाई प्रशिक्षण दिएको हो । अंग्रेजी मोहकै कारण ग्रामिण भेगका सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा अंग्रेजी विषयको पठनपाठनलाई प्रभावकारी बनाउनका लागि विषयगत शिक्षकहरुलाई प्रशिक्षण दिइएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए । तालिममा नगर स्तरका ४३ ओटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले ढोरपाटन नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको भन्दै शिक्षाको विकास र सुधारका लागि नगरपालिकाले जस्तो सुकै कदम चाल्न तयार रहे को प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उप–प्रमुख पुनले आम अभिभावकहरू आफ्ना बालबालिकालाई अंग्रेजी भाषा पढाउने होडमा बोर्डिङ केन्द्रित भइरहेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षणको निम्ति हरेक विद्यालयले अंग्रेजी माध्यमको पठन पाठनलाई प्रभावकारी बनाउँदै विशेष कार्यक्रम र योजनाका साथ अगाडी बढ्न आवश्यक रहेको बताईन । उप–प्रमुख पुनले ढोरपाटन नगरपालिकाले प्रत्येक महिना सामुदायिक विद्यालयका विषयगत शिक्षकहरुलाई प्रशिक्षण दिने योजना समेत बनाएको बताउँदै आगामी जेठ महिनामा गणित विषयका शिक्षकहरुको क्षमता विकास तालिम सञ्चालन हुने समेत सो अवसरमा जानकारी दिएकी थिईन ।
यस्तै तालिमका प्रमुख प्रशिक्षक, बागलुङ नगरपालिकाका स्रोत व्यक्ति तथा बृटिश काउन्सीलका प्रशिक्षक ढक बहादुर पुनले शिक्षक, अभिभावकले बालबालिकालाई अंगेजीमैत्री वाताबरणबाट टाढा राखे २१ औँ शताब्दीको शिक्षा र विश्व अर्थ व्यवस्थाबाट बालबालिका धेरै टाढा रहने बताए । राज्यले स्वास्थ्य र शिक्षालाई आधारभुत अधिकारका रुपमा स्थापित गर्न सके मात्र समृद्ध नेपालको परिकल्पना पुरा हुने भन्दै पुनले यसको विकासका निम्ती सरकारले लगानी बढाउन आवश्यक रहेको बताए । प्रशिक्षक पुनले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालिमबाट सिकेका ज्ञानलाई भरपुर उपयोग गर्नका लागि सहभागीहरुलाई आग्रह समेत गरे ।
सोही अवसरमा प्र्रशिक्षक पुनलाई खादा, अविर लगाएर मायाँको चिनो प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।
यस्तै तालिममा सहभागीहरुका तर्फबाट बोल्दै धिरी आधारभूत विद्यालयकी प्रधानाध्यापक मनदेवी बुढाथोकीले तालिमबाट धेरै कुरा सिक्ने मौका पाएको भन्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने अपेक्षा गरेको बताए ।
ढोरपाटन नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ती नगर स्तरका सम्पुर्ण विद्यालयमा यसै शैक्षिक सत्र २०७६ देखि कक्षा १ र २ मा अंग्रेजी माध्यमबाट पठनपाठन लागु समेत गरेको छ ।
उत्तरगंगा माध्यमिक विद्यालयकी शिक्षिका जुनिला घर्तीको अध्यक्षता रहेको समापन कार्यक्रममा समाजसेवी, बुद्धिजिवि एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले गरेका थिए ।