कोपिला कंडेल, बागलुङ, २०७६ बैशाख २६ । राष्ट्रिय कानुन दिवस बागलुङमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । उच्च अदालत पोखरा बागलुङ इजलास, बागलुङ जिल्ला अदालत र उच्च अदालत बार एशोशियसनको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ । सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै सोही दिन कानून दिवस मनाउने गरिएको छ । सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले कानुन क्षेत्रको आमुल परिवर्तन भएपनि सर्वसाधारण जनताले न्यायको अनुभुति अझै गर्न नसकेको बताए । उनले कानुन क्षेत्रबाट जनताले अनुभुति गर्नेखालको सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै निष्पक्ष र सक्षम न्यायापालिकाको प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताउदै मुख्य न्यायाधीश शिवाकोटीले न्याय कानुन भन्दा पनि ठुलो भएकाले निष्पक्ष हुनुपर्ने धारणा व्यक्त गरे । न्याय सेवाको पहुँचमा आउन नसकेका आम नागरिकका लागि वैतानिक वकिलको व्यवस्था रहेकाले पनि सेवालाई मजबुद बनाउदैँ लग्नुपर्ने उनको भनाई थियो । सहज पहुँच युक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न यस दिवसले थप हौसला प्रदान गर्ने शिवाकोटीले बताए ।
सो अवसरमा बरिष्ठ अधिवक्ता पध्मनाथ शर्मालाई सम्मान गरिएको थियो । मुख्य न्यायाधीश शिवाकोटी, रजिष्ट्रार धुर्व कुमार ढकाल लगायतले शर्मालाई दोसल्ला, माला तथा कलश दिएर सम्मान गरेका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता शर्मा, उच्च अदालत बार एशोशियसन बागलुङका अध्यक्ष हरिप्रसाद शर्मा, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, बारका पुर्व अध्यक्षहरु काजी गाउँले श्रेष्ठ, केशवराज पराजुली राजु गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम न्यायाधीश हरिप्रसाद पौडेलको अध्यक्षता, रजिष्ट्रार धुर्वकुमार ढकालको स्वागत मन्तब्य र भुमिराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।