बागलुङ २०७६ वैशाख २६ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले संस्थाका महिला विकास उपसमितिका सदस्य मुना शर्माको पिता नारायण प्रसाद उपाध्यायको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ गहते निवासी उपाध्यायको वैशाख १७ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । निधन भएको १० औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), सञ्चालक शान्ति श्रेष्ठ र अम्बिका जिसी, संस्थाका शेयर सदस्य तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पूर्व सभापति विश्वनाथ रेग्मी, शेयर सदस्य योगमाया गौतम लगायतले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो । स्वर्गीय उपाध्यायका जेठी छोरी शारदा शर्मालाई मृत्यु राहत रकम हस्तान्तरण गरिएको थियो ।
साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ । सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १४ करोड निक्षेप, १५ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय सहकारी संस्थाका रुपमा विकास गर्न लागिएको आदर्श सञ्चार सहकारीले यसै आर्थिक वर्षदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट समेत पत्रिका प्रकाशनका साथै वित्तीय कारोबार गर्ने तयारी गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताईन ।