महेन्द्र केसी, पर्वत २०७६ बैशाख २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।
पर्वतमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले गण्डकी प्रदेशमा रहेका ११ जिल्लालाई कृषिमा आत्मानिर्भर बनाउनकै लागि पाइलट योजना अनुसार मुख्यमन्त्री कृषि गाउँ परियोजना ल्याएको बताए । उनले अब बाँझो जमिन राख्न नपाइने गरी काम अगाडि बढेको पनि बताए । हामी गण्डकी प्रदेशलाई अब्बल प्रदेशका रुपमा विकास गर्न चाहान्छौं । हाम्रो मुख्य आयस्रोत भनेकै पर्यटन र कृषि हो उनले भने । प्रदेशको कृषि क्षेत्रको विकास र विस्तारको लागि सरकारले कुनै पनि काम बाँकी नराख्ने उनले दाबी गरे ।
हरेक वडा कृषि गाउँ
अब हरेक वडालाई कृषि गाउँका रुपमा विकास गर्ने गरी योजना बनेको मुख्यमन्त्री गुरुङले बताए । कृषि र पर्यटनलाई सँगसँगै जोडेर रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर बनाउनकै लागि पनि अब मुख्यमन्त्री कृषि गाउँ परियोजनालाई व्यापक बनाउने गरी काम भइरहेको उनले बताए । तपाईहरु लाग्नुहोस् के चाहिन्छ भन्नुहोस प्रदेश सरकारले दिन्छ उनले भने ।
गाईका बाच्छी बेच्छौं
मुख्यमन्त्री गुरुङले अब प्रदेश सरकारले नै गाईका बाच्छी बेच्ने दाबी गरेका छन् । प्रदेशमा खुल्न लागेको चिनियाँ गाइ फार्म त्यसकै उपज भएको उनले दाबी गरेका छन् ।
नेपालमा विभिन्न ठाउँबाट गाई आयात हुँदै आएको छ । गण्डकी प्रदेशमा पनि धेरै गाईहरु भित्रिएका छन् । अब प्रदेश सरकारले नै गाईका बाच्छी उत्पादन गर्छ र विक्रि गर्छ उनले भने । आयात भन्दा निर्यात बढी भएका कारण चिनियाँ सरकारको सहयोगमा आधुनिक किसिमको गाई फार्म खोल्न लागेको उनले बताए ।
व्यवसायिक खेतीमा जोड
व्यवसायीक खेती गर्नेलाई सरकारले सहयोग गर्ने उनले दाबी गरे । हामी अब कृषि नीति अन्तरगत चक्लाबन्दीको योजना ल्याउन लागेको छौं । अब पूरानै पाराले कृषिको क्षेत्रमा आत्मानिर्भर हुने खालको विकास गर्न सकिदैन त्यसैले आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक खेती विकासको लागि प्रदेश सरकार लागि परेको छ उनले भने ।
प्रदेश सरकारले आम्दानीलाई दोब्बर हुने खालको कृषि प्रणालीको विकास गर्न लागेको मुख्यमन्त्री गुरुङले दाबी गरे । तपाईहरुलाई के चाहियो छ प्रदेश सरकारलाई भन्नुहोस हामी पूरा गरिदिन्छौं तर अब पूरानै शैलीले कृषिमा क्रान्ति हुन सक्दैन उनले भने ।
कृषि अनुसन्धान केन्द्र बनाउनको लागि गण्डकी प्रदेश सरकारले तयारी गरेको मुख्यमन्त्री गुरुङले बताए । उनले भने अब हाम्रा कृषकले उत्पादन गरेको कृषि उपजलाई वैज्ञानिक मान्यता दिने खालको प्रशोधन गरेर मान्यता दिने किसिमले जाने योजना बनाएका छौं जसले हाम्रो प्रदेशको उत्पादनले अन्तराष्ट्रिय मान्यता पाओस् उनले भने ।
आम्दानी दोब्बर
गण्डकी प्रदेशमा ४८ प्रतिशत क्षेत्रमा मात्रै सिचाईको पहुँच भएका कारण पनि उत्पादनमुखी हुन नसकेको गुरुङको दुखेसो छ । उनले अब खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाइने गरी नियम लागू गरी प्रदेशलाई कृषिमा आत्मानिर्भर र आम्दानी दोब्बर बनाउने गरी सरकार अगाडि बढ्ने उनले बताए । मुख्मन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका नागरिकको आम्दानी कम रहेको भन्दै अबको पाँच वर्षभित्र १२ हजार डलर प्रतिव्यक्ति आम्दानी हुने गरी काम भैरहेको दाबी गरे । कृषिको विकास गरी रोजगारी सिर्जना गर्ने र आम्दानी बढाउने गरी योजना निर्माण भएको उनले सुनाए ।
पाँच वर्षमा उथलपुथल
सरकारले आगामी पाँच वर्षभित्र प्रदेशको विकासमा उथलपुथल हुने गरी काम अगाडि बढाउने बताए । हामीले छोड्ने बेलामा गण्डकी प्रदेशको मुहार फेरिन्छ मुख्यमन्त्री गुरुङले भने । अहिले हेर्दा केहि विकास नभएको जस्तो देखिएको छ तर हामी तीब्र गतिमा विकास निर्माणमा लागेका छौं उनले भने । अब प्रदेशको विकास बाइपंखे घोडाको शैलीमा हुने उनको दाबी छ । पहिलो वर्ष संघीयता कार्यान्वयनको चरणको वर्ष थियो, कानून, निमय, विनियम बनाउनुपर्ने थियो त्यसैले काम नगरेजस्तो देखियो तर अबका चार वर्ष विकासका वर्ष हुनेछन् उनले भने ।