बागलुङ, २०७६ बैशाख २८ । संस्थामा कार्यरत कर्मचारीलाई सूचना, सञ्चार र प्रविधिका विषयमा दक्ष बनाउने उद्देश्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले एक दिने तालिम सम्पन्न गरेको छ ।
संस्थाले बनाएको १० वर्षे रणनीतिक योजना अनुसार साविक धौलागिरि अञ्चलकै सबल, सक्षम र प्रभावकारी सञ्चार गृहका रुपमा स्थापित गर्नका लागि कर्मचारीको भूमिका थप प्रभावकारी बनाउनका लागि सूचना, सञ्चार र प्रविधिको अधिकतम उपयोगमा जोड दिएको संस्थाले जनाएको छ ।
संस्थाले आर्थिक वर्ष २०७९÷०८० को अन्तिमसम्म आफ्नै सुविधा सम्पन्न भवनबाट सूचना तथा सञ्चार, वित्तीय लगायत विभिन्न क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ । संस्थाले दैनिक, साप्ताहिक, मासिक पत्रिका, एफएम, टेलिभिजन लगायतका सञ्चारमाध्यम सञ्चालन गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड बचत, ५० करोड लगानी गर्ने लक्ष्य लिएको छ ।
संस्थाको लक्ष्य अनुसारको प्रगतिका लागि कर्मचारीको क्षमता विकास आवश्यक रहेको र सबै कर्मचारीलाई सूचना, सञ्चार र प्रविधि सम्बन्धी दक्ष बनाउन तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.ले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सञ्चार गृहहरुले आफ्नो संस्थाका कार्यरत कर्मचारी तथा पत्रकारहरुलाई आन्तरिक प्रशिक्षण दिने प्रचलनको शुरुवात भएको बताए । आदर्श सञ्चार सहकारीले सूचना सञ्चार र वित्तीय क्षेत्रमा काम गर्ने भएकाले कर्मचारी तथा सञ्चारकर्मीहरु दुवै काममा दक्ष बन्न सकेमा संस्थागत विकासमा थप टेवा पुग्ने बताए ।
संस्थामा कार्यरत सञ्चारकर्मी तथा वित्तीय सेवातर्फ कार्यरत कर्मचारीहरु गरी १२ जनाको सहभागिता रहेको तालिममा पत्रकारिता सम्बन्धमा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष र संस्थाले सञ्चालन गरेको सहकारी लेखा प्रणाली (कोपास) सफ्टवेयर लगायत प्रविधिका विषयमा गौतम सफ्टवेयर डेप्लपर्सका प्राविधिक प्रतिमान पौडेलले सहजीकरण गरेका थिए ।
सहकारी मार्फत सञ्चारमाध्यमको संस्थागत विकासमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थामा हाल १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १४ करोड बचत, १५ करोड ३० लाख कर्जा लगानी र १८ करोड कुल कारोबार रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले बताए ।
संस्थाले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनसंगै धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आइरहेको छ ।