Sorry, that menu does not exist.
 

कालीगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गरौं : अध्यक्ष तिमिल्सिना

महेन्द्र केसी, पर्वत, २०७६ जेठ २ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालीगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गर्दै थप विकास गर्नुपर्ने बताएका छन ।

पर्वतको कुश्मामा बुधबारदेखि सुरु भएको गुप्तेश्वर विराट कोटीहोम महायज्ञको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उत्तरमा दामोदर कुण्डदेखि दक्षिणको त्रिवेणीधामसम्म थुप्रै धार्मिक गन्तब्य रहेकाले योजना बनाएर विकास र प्रचार गर्नुपर्ने धारणा राखेका हुन ।

‘कालीगण्डकी नदी किनार हुँदै उत्तरमा चीन र दक्षिणको भारतीय सीमासम्म जोडिने सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘सडक निर्माण भइसकेपछि भारतबाट आउने लाखौं धार्मिक पर्यटकले यो रुट प्रयोग गर्छन् । त्यसैले कालीगण्डकी किनार वरपर रहेका धार्मिक गन्तब्य थप विकास गरी प्रचार गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले पर्वतको कुश्मामा रहेको गुप्तेश्वर गुफालगायत धार्मिक गन्तब्यहरुमा पूर्वाधार विकास तथा प्रचार गर्ने उद्देश्यले आयोजित कोटीहोम महायज्ञले देश विदेशमा कालिगण्डकी किनार वरपर रहेका धार्मिक स्थलहरुको प्रचार गर्ने विश्वास व्यक्त गरे ।

उहाँले हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ यही नदीको किनारमा पर्ने भएकाले पनि सो क्षेत्र हुँदै दामोदर कुण्ड जान चाहने पर्यटकको संख्या बृद्धि हुने बताए ।

विश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालिगण्डकीको किनारमा पर्ने धार्मिक सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा सबै एकजुट हुन आग्रह गरे ।

हिन्दुहरुका आराध्यदेव भगवान शिव र पार्वतीको विश्वमै सबैभन्दा अग्लो मूर्ति स्थापना गरि पर्वतलाई महत्वपूर्ण धार्मिक स्थल बनाउने उद्देश्यले कोटिहोम महायज्ञ आयोजना गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply